मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आइतबार बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी गरिएको हो ।

जिल्ला वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्कीका अनुसार नारायणी किनारमा रहेको झाडीमा बाघ लुकेको आशङ्का गरिएको छ । उक्त बाघ खोजी गर्नका लागि ड्रोन क्यामराबाट हेर्ने तयारीसहित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट ड्रोन मगाइएको उनले जानकारी दिएका छन् । उनका अनुसार ड्रोनले बाघ पहिचान गरेपछि हात्तीको सहायताले डार्ट (बेहोस) गर्ने योजना छ ।

त्यस्तै, नारायणी किनारमा नदीमा मिसिनुअघि ढललाई प्रशोधन गर्न बनाइएको ट्याङ्क क्षेत्रको नर्कट झाडीमा बाघ रहेको अनुमान गरिएको प्रमुख कार्कीले बताएका छन् । सो क्षेत्रमा एकातर्फ मानवबस्ती छ भने अर्कोतर्फ नारायणी नदी पर्दछ । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ भेटेनरी चिकित्सक डा विजयकुमार श्रेष्ठले कसराबाट ड्रोन र तीन वटा हात्ती आउँदै गरेको जानकारी दिएका छन् । उनका अनुसार सुरुमा ड्रोनबाट पहिचान गरेर बाघ देखिएमा डार्ट गर्ने तयारी गरिएको छ ।

सो क्षेत्रमा मानव आवतजावत गर्न रोकिएको छ । पाइलालाई हेर्दा माउबाट भर्खरै छुटेर सिकार गर्न सुरु गरेको बाघ हुनसक्ने चिकित्सक श्रेष्ठको भनाइ छ । ‘बाघ कहाँबाट आयो यकीन हुन सकेको छैन । यद्यपि नगर वन क्षेत्रबाट आएको हुनसक्ने आशङ्का गरिएको छ’, उनले भने ।

आइतबार बिहान हिँड्ने क्रममा भरतपुर महानगरपालिका-२ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ५:२० बजे बिहान भरतपुर-१ नारायणी किनारमा बाघले श्रेष्ठलाई आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते हुनुभएका श्रेष्ठको तीन ठाउँमा हड्डी भाँचिएको छ भने पाँच वटा दाँत फुत्केर घाँटीमा पुगेका छन् । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालका निर्देशक डा दयाराम लम्सालको भनाइ छ ।

उनका अनुसार श्रेष्ठको पाँच वटा कृत्रिम दाँत फुत्केर घाँटीमा गएर अड्किएको थियो । बाघको आक्रमणबाट दाहिने हातको हत्केला र नाडीको हड्डी भाँचिएका छन् । यस्तै दाहिने कुहिनाको नजिकको (केल्भिकल) हड्डीसमेत भाँचिएको छ । श्रेष्ठको स्वास्थ्यावस्था खतरामुक्त रहेको डा.लम्साल बताउँछन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्