काठमाडौँ । प्रहरीले व्यवसायी दुर्गा प्रसाईंको घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ । उनको घर खनतलासी गर्दा ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले पुष्टि गरे । विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएकाले थप प्रमाण भेटिनसक्ने हुँदा घरबाट अन्य विद्युतीय सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रसाईंबाट बरामद ल्यापटप र मोबाइललाई जाँचका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाउने तयारी छ । डीएफएलबाट ल्यापटप र मोबाइलमा डिलिट भएका विवरण पनि रिकभर हुन्छन् ।
प्रसाईंले सोमबार युट्युबरहरु बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम एक्जिएटा प्रालिमा लगानी गरेको दाबी गरेका थिए । त्यसक्रममा उनले प्रमाण भन्दै केही कागजपत्र पनि सार्वजनिक गरेका थिए । प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजातहरु कीर्ते गरेर तयार पारिएको देखिएको छ ।