काठमाडौँ । आज काठमाडौँ विश्वको नवौं प्रदूषित शहर बनेको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्दै गएको छ ।
काठमाडौँको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ८० पुगेको छ । हाँडीगाउँमा भने एक्वूआई १ सय ८८ सम्म पुगेको छ । चितवनको मेघौलीमा वायु प्रदूषण अति अस्वस्थ अवस्थामा पुगेको छ । मेघौलीको एक्यूआई २ सय २८ पुगेको छ ।
१५० सम्मको एक्यूआईलाई सन्तोषजनक, १५० देखि २ सयसम्मलाई अस्वस्थ र ३०१ देखि ५ सयसम्मलाई आपत्कालीन अवस्था मानिन्छ ।
भारतमा प्रदूषण बढिरहेकोले अब नेपालमा पनि त्यसको असर बढ्दै जाने देखिएको छ । अबको केही दिन नेपालमा वायु प्रदूषण बढ्दै जाने त्रिभुवन विश्वविद्यालयको मौमस विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिए । तत्काल पानी पर्ने सम्भावना नभएकाले केही दिनमा प्रदूषण झनै बढ्ने देखिएको पोखरेलको भनाइ छ ।