काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋण सम्बन्धी कुनै सम्झौता नभएको बताएका छन्। बिहीबार चारदिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।
उनले चीन भ्रमणपूर्व नै कुनै पनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौत नभएको स्पष्ट पारे। उनले भ्रमणमा बीआरआईअन्तर्गत गरिएका सम्झौताअनुसार नेपालले पाउने सबै रकम अनुदान भएको बताए।
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व अब १८ महिना गरेपछि आफूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए। उनले देउवाले डेढ वर्ष सरकारको नेतृत्वसँगै निर्वाचन गराउने र चुनावमा बहुमत ल्याउन सबै राजनीतिक दलहरुले प्रयास गर्ने बताए। उनले बहुमत नआएको खण्डमा गठबन्धनबाट नयाँ सरकार बन्ने बताए।