काठमाडौँ । घट्दो जन्मदरलाई रोक्न जापानको टोकियो महानगर सरकारले आफ्ना कर्मचारीलाई हप्ताको चार दिन मात्रै काम लगाउने भएको छ। यो योजना अनुसार टोकियो सरकारका कर्मचारीलाई काम गर्ने समय मिलाएर आफूलाई पायक पर्ने गरी हप्ताको एकदिन अतिरिक्त बिदा बस्न मिल्नेछ। हाल टोकियोमा लगभग संसारभर लागु भए जस्तै हप्ताको पाँच दिन काम गर्नुपर्छ।
यो योजनाले बच्चा हुर्काउनलाई सजिलो पारेर कर्मचारीहरूलाई बच्चा जन्माउन प्रेरित गर्नेछ भनेर टोकियो सरकारले अपेक्षा गरेको छ। ‘बच्चा जनमाउने, हुर्काउने लगायत कारणले कसैले पनि आफ्नो ‘क्यारियर’को बली चढाउनु नपरोस् भन्नका लागि हामी हाम्रो काम गर्ने शैलीलाई लगातार समीक्षा गर्नेछौं,’ टोकियोका गभर्नर युरिको कोइकेले पछिल्लो नगरसभामा भनिन्। लामो समयदेखि महिला सशक्तिकरण जापानका लागि समस्या रहेको औंल्याउँदै उनले यसमा जापान बाँकी विश्वभन्दा धेरै पछाडि रहेको बताइन्।
जापानको जनसंख्या लगातार १५ वर्ष घटेको छ। र यो वर्ष पनि घट्ने लगभग निश्चित छ। सन् २०१२ देखि २०२२ सम्मको दशकमा टोकियोको जन्मदर १५ प्रतिशतभन्दा बढीले घटेको छ।
त्यसैले बच्चा जन्माउन प्रोत्साहन गर्नका लागि ती देशले सुत्केरी बिदा बढाउने, पुरूषलाई पनि बच्चा हुर्काउन बिदा दिने, चाइल्ड केयर सेवा सुधार्ने,एक भन्दा बढी बच्चा जन्माए करछुट दिने लगायत योजना ल्याइरहेका छन्।