काठमाडौँ । पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । पाकिस्तानी तालिबानका संदिग्ध लुकेको क्षेत्रलाई निशाना बनाएर गरिएको आक्रमणमा महिला र बालबालिकासहित १५ जनाको मृत्यु भएको हो ।
आक्रमणबाट पाकिस्तानी तालिबान तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी)को तालिम केन्द्र ध्वस्त भएको पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले जनाएको छ । तर, पाकिस्तानी विमानहरू अफगानिस्तानमा कतिसम्म पुगे र कसरी आक्रमण गरे भन्नेबारे खुलाइएको छैन ।
अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानी हवाई आक्रमणको निन्दा गरेको छ । काबुलले महिला र बालबालिकासहित सर्वसाधारणलाई निशाना बनाएर हमला गरिएको आरोप लगाएको छ । अफगानिस्तानले यसलाई अन्तर्राष्ट्रिय नियमको उल्लंघन भनेको छ ।
सन् २०२१ मा अफगानिस्तानमा तालिवानको पुनरागमनसँगै पाकिस्तानी तालिबान (टीटीपी) बलियो भएको छ । टीटीपीले नोभेम्बर २०२२ मा पाकिस्तानसँगको युद्धविराम एकपक्षीयरूपमा समाप्त गरेको थियो । त्ययसपछि उनले पाकिस्तानमाथि आक्रमणलाई तीव्र बनाएका छन् ।