Skip to content

एक दशकपछि समिर र यास्मिनले पाए आमाको नामबाट नागरिकता

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ  । बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले करिब एक दशकको प्रतीक्षापछि आमाको नामबाट नेपाली नागरिकता प्राप्त गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमको नामबाट नागरिकता प्रदान गरेको हो।

नागरिकताका लागि समिरले ११ वर्ष र यास्मिनले ८ वर्षअघि नै आवश्यक प्रक्रिया पूरा गरी प्रशासनदेखि गृह मन्त्रालयसम्म आवेदन पेश गरेका थिए। नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन र नियमावलीको चौथो संशोधन कार्यान्वयनमा आएपछि उनीहरूलाई आमाको नामबाट नागरिकता दिन सम्भव भएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो।

समिर र यास्मिनकी आमा मनिरजा बेगम नेपाली नागरिक हुनुहुन्छ भने उहाँका श्रीमान् सलिम खान भारतको कलकत्ताका हुन्। करिब ३४ वर्षअघि विवाह भए पनि मनिरजाले बेनीमै बसोबास गर्दै शृङ्गार व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ। सलिम खानले भारतको नागरिकता त्यागिसकेको र नेपालका निर्वाचनहरूमा मतदानसमेत गरिसकेको बताउनुभएको छ।

समिर र यास्मिनको साबिक अर्थुङ्गे गाविसमा जन्मदर्ता भए पनि नागरिकता नपाउँदा उनीहरू उच्च शिक्षा हासिल गरेपछि पनि रोजगारी, पेसा–व्यवसाय र वैदेशिक रोजगारीबाट वञ्चित हुनुपरेको थियो। नागरिकता पाएपछि बल्ल आफूहरू वास्तविक रूपमा नागरिक भएको अनुभूति भएको उनीहरूको प्रतिक्रिया छ।

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन भएपछि नागरिकता ऐन २०६३ को व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयनमा आएको हो। यसअघि पुस २९ गते मालिका गाउँपालिका–५ देविस्थानकी सीमा पुनलाई जिल्लामै पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार