काठमाडौँ । हिमाली जिल्ला डोल्पाका अधिकांश मतदान केन्द्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हेलिकप्टरकै भर पर्नुपर्ने बाध्यता रहेको छ।
जिल्लाका भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण माथिल्लो डोल्पाका २३ मतदान केन्द्रमा मतदान सामग्री, सुरक्षाकर्मी र निर्वाचन कर्मचारी ढुवानी गर्न हेलिकप्टर प्रयोग गर्नु अपरिहार्य भएको हो।
जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठका अनुसार शे–फोक्सुण्डो, छार्का ताङ्सोङ र डोल्पोबुद्धका गाउँबस्तीहरूमा सडक पहुँच नहुँदा पैदल यात्रा गर्न धेरै दिन लाग्छ। ‘माथिल्लो डोल्पाका गाउँबस्तीहरू भौगोलिक रूपमा निकै विकट छन्, पटकपटकको हिमपातले बाटो बन्द छन्, चिसो उत्तिकै छ, पैदल जान सम्भव छैन,’ उनले भने।
डोल्पामा कुल २४ हजार ११५ मतदाता छन्, जसमा महिला १२ हजार १८७ र पुरुष ११ हजार ९२८ रहेका छन्। जिल्लामा ६८ वटा मतदान केन्द्रमध्ये २६ अति संवेदनशील, २४ संवेदनशील र १८ सामान्यको सूचीमा राखिएका छन्। भौगोलिक हिसाबले अति संवेदनशीलको सूचीमा राखिएका मतदान केन्द्र अधिकांश माथिल्लो डोल्पाका रहेका छन्।
निर्वाचन सुरक्षाका लागि जिल्लामा ३५५ जना नेपाल प्रहरी, ५७९ जना निर्वाचन प्रहरी, साथै आवश्यकताअनुसार नेपाली सेना र सशस्त्र प्रहरी बल पनि परिचालित हुनेछन्।
जिल्लामा दुई अस्थायी मतदान केन्द्र पनि तोकिएको छ—एक कारागारभित्र रहेका कैदीबन्दीका लागि र अर्को जिल्ला भित्र कार्यरत कर्मचारीहरूका लागि।
निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, एमाले, रास्वपा, उज्यालो नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मितेरी नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र एक जना स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। उम्मेदवार दर्ता गराएका ९ मध्ये दुई उम्मेदवार मितेरी नेपाल र उज्यालो नेपालबाट कांग्रेस प्रवेश गरिसकेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्