Skip to content

कक्षा १२को नतिजा १० असारभित्र सार्वजनिक गर्ने तयारी

कालोपाटी

९ मिनेट अगाडि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९एसएलसीई० अर्थात् कक्षा १२ को नतिजा आगमी असार १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

‘उत्तरपुस्तिकाको सम्परीक्षण सकेर टेबुलेसनको काम भइरहेको छ । १० गतेभित्र नतिजा सार्वजनिक हुन्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।

सरकारले ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको छ । सोहीअनुसार कर्मचारीले काम गरिरहेका छन् । ‘४५ दिनभन्दा अगाडि नै नतिजा आउँछ,’ उनले भने । यसअघि माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा २९ दिनमै सार्वजनिक गरिएको थियो ।

एसएसलीईको परीक्षा गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो । परीक्षाका लागि ४ लाख १८ हजार ८ परीक्षार्थीहरूले फारम भरेका थिए । नियमिततर्फ ३ लाख ३२ हजार १७८ ९जसमध्ये छात्र १ लाख ७२ हजार १२ छात्रा १ लाख ६० हजार १३७ र अन्य २९० तथा आंशिकतर्फ ८५ हजार ८३० विद्यार्थी थिए । नेपालभर १४२० र जापानमा एकसमेत गरी कूल १४२१ परीक्षा केन्द्रबाट परीक्षा भएको थियो ।

एसएलसीई र एसईईमा के फरक छ ?

विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा हुन्छ । जसको सञ्चालन राष्ट्रिय परीक्षा बोर्डले गर्ने गरेको छ । धेरैलाई थाहा छैन विद्यालय तहको अन्तिम परीक्षाको नाम एसएएलसीई हो भनेर । तर शिक्षा ऐनको दफा २ (छ) मा परीक्षाको नाम स्पष्टरुपमा उल्लेख गरिएको छ ।

‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९स्कुल लिभिङ सर्टिफिकेट एक्जामिनेसन० भन्नाले माध्यमिक शिक्षाको अन्त्यमा हुने परीक्षा सम्झनु पर्छ,’ उक्त दफामा भनिएको छ, जसलाई सर्टकटमा एसएलसीई भनिन्छ ।

२०७३ देखि कक्षा १० मा हुने अन्तिम परीक्षालाई माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) भनिँदै आएको छ । एसईई सुरु हुनुअघि भने कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी भनिँदै आएको थियो ।

१९९० सालदेखि एसएलसी सुरु भएको थियो । तर २०७३ सालदेखि एसएलसी हटाएर एसईईको सुरुवात गरिएको हो । हालको शिक्षा ऐनले एसएलसीई र एसईई दुवै परीक्षा लिने व्यवस्था गरेको छ ।

एसएलसीई र एसईई दुवै आवश्यक छ र ?

प्राज्ञहरूले विद्यालय शिक्षाको अन्तिम परीक्षा (एसएलसीई) कक्षा १२ मा हुने भएकाले कक्षा १० को अन्तिम परीक्षा (एसईई) खारेज गर्नुपर्ने बहस पनि गर्दै आएका छन् । विद्यार्थी आफूले आफूलाई मूल्याङ्कन गर्ने अवधारणा ल्याउनुपर्ने बताउँछन् प्रा।डा। विद्यानाथ कोइराला ।

‘१० को परीक्षा आवश्यक छैन । विद्यार्थीले आफूले आफूलाई जाँच्ने मूल्याङ्कन गर्ने सामग्री ल्याउनुपर्छ,’ उनले भने, ‘शिक्षकले विद्यार्थीलाई जाँच्ने सक्ने तागत कम हुँदै गएको छ । मेरो ज्ञान के छ, सिप कस्तो छ, आधुनिक प्रविधिसँग पुर्खाको ज्ञान जोड्न के गरेको छ भनेर प्रश्नावली बनाएर विद्यार्थीलाई दिनुपर्छ ।’

कक्षा १ देखि नै आफ्नो मूल्याङ्कन आफैं गर्न विद्यार्थीलाई दिनुपर्ने प्रस्ताव कोइरालाको छ । कक्षा १२ को अन्तिम परीक्षा मात्र बोर्डले गर्दा उपयुक्त हुने धारणा उनको छ । ‘अन्तर्राष्ट्रिय रूपमा पनि आवश्यक पर्ने भएकाले १२ लाई बोर्डको मान्यता दिनुपर्छ,’ उनले भने ।

अभिभावक महासंघका निवर्तमान अध्यक्ष सुप्रभात भण्डारी पनि कक्षा १० को परीक्षा राष्ट्रियस्तरमा गर्न आवश्यक नरहेको बताउँछन् ।

‘कक्षा १० को अन्तिम परीक्षालाई राष्ट्रियस्तरको बनाउन आवश्यक छैन । नियमित परीक्षा गर्दा हुन्छ । नभए प्रदेश तहमा गर्दा पनि हुन्छ,’ उनले भने, ‘हाउगुजी परीक्षा गर्नु हुँदैन । राष्ट्रिय परीक्षा १२ कक्षाको अन्तिममा हुन्छ ।’ कक्षा १० को परीक्षाको स्वरूप फेर्नुपर्ने तर्क उनको छ । ‘अब बन्ने नयाँ शिक्षा ऐनबाट परीक्षाको स्वरूप फेर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार