काठमाडौँ । कुनै समय नेपालमा डीटीएच सेवाको पर्यायजस्तै थियो डिस होम । नेपालमा केवल नेटवर्क लगभग आधा विस्तापित गराएको डिस होम बिजनेशमा आक्रामक थियो । तत्कालीन होम टिभी र डिस नेपाल एक बनेर बजारमा आउँदा गाउँगाउँमा टिभी हेर्ने दरिलो माध्यम बनेको थियो डिस होम । तर, समयको परिवर्तन, इन्टरनेट र आईपीटिभीको व्यापक पहुँचको विस्तार, कमजोर सेवा र सपोर्ट लगायतका कारण कुनै बेला ‘हिरो’ बनेको डिस होम ‘जिरो’ बन्ने अवस्थामा आईपुगेको छ । यो समाचार तयार गर्दाकै दिन पनि डिस होममा थुप्रै भेण्डरको पेमेन्ट गर्न नसकिएको विषयमा छलफल जारी छ । कम्पनीले आफ्नो अस्तित्व जोगाउन मर्जरका लागि विभिन्न कम्पनीसँग छलफल सुरु गरेपछि त झन्, त्यहाँका कर्मचारी, केहि साना सेयरधनी लगायत कम्पनीसँग पेमेन्ट उठाउन बाँकी भेण्डरहरु आत्तिएका छन् ।
डिस होम मर्जरको उचित पार्टनरको खोजीमा छ । डिस होमका एक उच्च अधिकारीले कम्पनी अर्को कुनै आईपीटिभीसँग मर्जरका लागि तयारी गरिरहेको पुष्टी गरेका छन् । ‘आइपीओ लगायतका कुराहरु रहेकाले सकेसम्म आफु मर्जरमा जाने भए पनि बाहिरचाहिँ दुवै मिलेर झन् ठुलो डिस मिडिया बनेको जस्तो देखाउने तयारी कम्पनीको छ ।’ ती अधिकारीले कालोपाटीसँग भने, ‘…तर केहि आइपीटिभीहरु आफ्नो नाम नामेट गर्न मानिरहेका छैनन् भने, अरुमा मिसिन र आफ्नो नामै नामेट गर्न डिस होम पनि तयार छैन । आइएसपीको हकमा मर्जरको नीति नै नभएकाले आइएसपीको लाइसेन्स नै छाडेर अर्को कम्पनीसँग मिल्नुपर्ने वा अर्को कुनै कम्पनीको आइएसपी लाइसेन्स खारेज गर्नुपर्ने कानुनी झमेला छ । कुरा यहीँनेर अड्किएको छ । तर, मर्जरका लागि छलफल चलिरहेको छ । मर्जर नभए अव कम्पनी लामो समय अघि बढ्दैन ।’डिस होमका अर्का एक अधिकारीले पनि कम्पनी मर्जरमा जान लागेको पुष्टी गरे । ‘वर्ल्ड लिंकले पत्याएन । कमजोर आर्थिक अवस्था भएकाले डिस होमलाई हेर्ने उसको नजर राम्रो छैन । भायानेटसँग छलफल अघि बढेको छ, तर फाइनल भएको छैन ।’ ती अधिकारीले कालोपाटीसँग भने, ‘मर्जरमा जानुको विकल्प नै छैन डिस मिडियासँग । किनकि, कम्पनी वित्तीय रुपमा निकै कमजोर भईसकेको छ ।’भायानेटका अधिकारीहरुले पनि डिस होमबाट मर्जरको कुरा आएको पुष्टी गरे । ‘कुरा आएको हो । कुरा आईरहन्छन् पनि । तर, कंक्रीट रुपमा कुरा भईसकेको छैन ।’ भायानेटका ती अधिकारीले भने ।
कम्पनीको फाइनान्स विभागमा कार्यरत एक कर्मचारीका अनुसार पछिल्ला वर्षहरूमा आम्दानीको तुलनामा खर्च बढ्दै जाँदा कम्पनीको नगद प्रवाह (क्यास फ्लो) गम्भीर रूपमा प्रभावित भएको छ । यसको असर यतिसम्म परेको छ कि कम्पनीले विभिन्न सेवा तथा सामग्री आपूर्ति गर्ने भेण्डरहरूलाई तिर्नुपर्ने सामान्य भुक्तानीसमेत समयमै गर्न नसकेको अवस्था छ । अपरेशनल खर्च धान्न पनि कम्पनीलाई धौ धौ भएको छ । ‘डीटिएचको बिजनेश त धेरै कमजोर भईसकेको छ । इन्टरनेटको बिजनेशको पनि अपेक्षित ग्रोथ हुन सकेको छैन । वर्ल्ड कपले केहि राम्रो होला कि भन्ने थियो, तर सोचेजस्तो नहुने देखियो ।’ कम्पनीको फाइनान्स विभागमा कार्यरत एक कर्मचारीले भने, ‘अव जनताबाट पैसा उठाउने कि मालिकले थप्ने भन्ने मात्र हो । यहि पारामा कम्पनी थप कमजोर हुन्छ ।कुनै बेला हिरो बाट जिरोमा जानुमा डिस होमको मात्र गल्ती पनि छैन । ‘कम्पनीले केहि कम्प्लाइन्स इस्युमा कमजोरी गरेकै हो । तर, गल्ती कम्पनीको मात्र छैन । मान्छेले रिचार्ज गरेर टिभी हेर्नै छाडे । धेरै मान्छे मोबाइलमा केन्द्रीकृत भए । प्रतिष्पर्धीहरु थप राम्रो हुँदै गए । अनि पहिलोबाट दोश्रो, दोश्रो बाट तेश्रो, तेश्रो बाट चौथो हुँदै कम्पनी नै जिरो हुने अवस्थामा आइपुग्यो ।’ डिस होममा सुरुवाती देखि नै काम गरेका अर्का कर्मचारी भन्छन्, ‘बेलैमा संसार कता जाँदैछ भनेर सोच्न सकेको भए कम्पनी केहि राम्रो हुन्थ्यो । अव त कम्पनी राम्रो हुन निकै गाह्रो छ ।’
ती कर्मचारीका अनुसार पछिल्लो समय डिस होमका धेरै ग्राहकले रिचार्ज गर्न छाडिसकेका छन् । गाउँ-गाउँमा रहेको डिस होमको मार्केट अकुपेन्सी घटिसकेको छ । एक मात्र आशा आइपीओको भए पनि तत्काल आइपीओ नआउने भएपछि कम्पनी थप समस्यामा परेको ती अधिकारीको दाबी छ । दूरसञ्चार तथा डिजिटल सेवाको बजारमा बढ्दो प्रतिस्पर्धा, ओटीटी प्लेटफर्महरूको विस्तार, परम्परागत टेलिभिजन सेवाप्रति घट्दो आकर्षण तथा उच्च सञ्चालन खर्चका कारण डिस होमज दबाबमा परेको र नेतृत्वले नै छाडिसकेको अवस्थामा कम्पनीको भविष्य सहि नभएको निष्कर्षमा कर्मचारी पुगेको कर्मचारीहरुको दाबी छ । ‘के के न गर्छु भनेर आउनुभएका तारा मानन्धरले त कम्पनी छाडेर जानुभयो । हामी यो कम्पनीमा जागिर खाने बाहेक केहि हुँदैन भनेर बसेकाहरुले के गर्नु ?’ ती कर्मचारीले भने ।
कर्मचारीलाई जागिर छाड्न निरन्तर दबाब !
डिस होमका कर्मचारीहरुले आफुहरुलाई जागिर छाड्न पटक पटक घुमाउरो र केहि पटक सिधै कुराकानी आएको दाबी गरेका छन् । ‘सुरुमा तारा मानन्धरले विभिन्न कुरा गरेर कम्पनी छाड्न दबाब दिन्थे । अहिले उनी नै कम्पनी छाडेर गए ।’ ती कर्मचारीले कालोपाटीसँग भने, ‘अहिले तारा मानन्धरले छाडे पनि जागिर छाड्न दबाब आईरहेको छ । हामी भीआरएस आउँछ कि भन्ने पर्खाईमा छौँ । तर, अर्को कम्पनीमा डिस मिडिया मर्जरमा जान लागेकाले भविष्य नभएको भन्दै अन्त जागिर खोज्न र करियर सुरक्षित बनाउन भन्दै दबाब आईरहेको छ ।’कुनै समय लाखौँ ग्राहकको रोजाइ बनेको डिस होम अहिले व्यवसाय जोगाउने संघर्षमा देखिएको र त्यसका लागि अहिले कम्पनीभित्र ‘ओभर स्ताफिङ’को समस्या रहेको दाबी कर्मचारीहरुको छ । बजारमा ‘हिरो’को छवि बनाएको कम्पनी आज ‘अस्तित्व बचाउने लडाइँ’मा उत्रिनुपरेको अवस्था भएकाले कर्मचारीलाई आफ्नो बाटो रोज्न भनिएको कर्मचारीहरुको भनाई छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्