काठमाडौँ । नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग आगामी श्रावण महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। सञ्चालनअघि आवश्यक प्राविधिक तयारीअन्तर्गत सुरुङमार्गमा प्रयोग हुने अपरेसनल तथा मेन्टिनेन्स सवारीसाधनको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ।
परीक्षणका क्रममा सुरुङभित्र नियमित निरीक्षण, मर्मतसम्भार, सरसफाइ, आपत्कालीन उद्धार तथा दुर्घटना व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन र उपकरणको कार्यसम्पादन परीक्षण गरिएको थियो। सुरुङ सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेसन, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, सञ्चार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षणसमेत भइरहेको छ।
नागढुंगा सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले २०७६ कात्तिक ४ गते गरेका थिए। परियोजना जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो। सुरुङमार्ग निर्माणको मुख्य जिम्मेवारी जापानी निर्माण कम्पनी हाज्मा–आन्दो कर्पोरेशन ले सम्हालेको हो भने परामर्श सेवामा जापानी कम्पनीहरूको संयुक्त संलग्न रहेको छ।
परियोजनाको कुल लागत करिब २२ अर्ब रुपैयाँ रहेको छ, जसको अधिकांश हिस्सा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋणबाट व्यवस्थापन गरिएको हो। मुख्य सुरुङको लम्बाइ करिब २।६८ किलोमिटर रहेको छ भने उद्धारका लागि छुट्टै आपत्कालीन सुरुङ पनि निर्माण गरिएको छ। सुरुङमार्गसँगै पहुँच सडक, फ्लाइओभर, पुल तथा अन्य सहायक संरचनाहरू समेत निर्माण गरिएका छन्।
निर्माण कार्य २०७६ सालमा सुरु भए पनि कोभिड–१९ महामारी, जग्गा अधिग्रहण, प्राविधिक चुनौती तथा अन्य व्यवस्थापकीय कारणले परियोजना सम्पन्न हुन केही ढिलाइ भएको थियो। हाल निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ र अन्तिम परीक्षण तथा सञ्चालन तयारी भइरहेको छ।
सुरुङमार्ग सञ्चालनमा आएपछि सुरुवाती चरणमा निश्चित मापदण्डअनुसार सवारीसाधनलाई प्रवेश दिइनेछ। सुरुङभित्र गति सीमा, सवारीबीचको दूरी, लेन अनुशासन तथा सुरक्षा मापदण्डको कडाइका साथ पालना गराइनेछ। सुरुङको सञ्चालन, निगरानी र आपत्कालीन व्यवस्थापन अत्याधुनिक नियन्त्रण केन्द्रबाट गरिने व्यवस्था गरिएको छ।
नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यका प्रवेश तथा बाहिरिने यात्रु र मालवाहक सवारीको आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। यसले नागढुंगा सडकखण्डमा हुने लामो ट्राफिक जाम न्यूनीकरण गर्नुका साथै यात्राको समय, इन्धन खपत र सवारी सञ्चालन लागत घटाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्