काठमाडौं। फिफाले सन् २०३० को विश्वकपमा सहभागी टोलीको संख्या ४८ बाट बढाएर ६४ पुर्याउने सम्भावनाबारे छलफल गर्ने भएको छ।फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको दायरा अझ व्यापक बनाउने विषयमा सम्बन्धित समितिहरूमा छलफल हुने बताएका छन्।
स्विस सञ्चारमाध्यम ब्लुविनसँगको अन्तर्वार्तामा इन्फान्टिनोले ४८ टोलीबाट ६४ टोलीमा विस्तार गर्नु उपयुक्त हुन सक्ने बताए।
उनले भने, ‘यो निश्चित रूपमा यस्तो विषय हो, जसबारे यस विश्वकपपछि सम्बन्धित समितिहरूमा अध्ययन र छलफल हुनेछ।’
इन्फान्टिनोका अनुसार विश्वकप आयोजना गर्दा युरोप र दक्षिण अमेरिकालाई मात्र होइन, सम्पूर्ण विश्वलाई प्रतिनिधित्व गराउनु आवश्यक हुन्छ।
‘विश्वकप आयोजना गर्दा सम्पूर्ण विश्वका लागि आयोजना गर्नुपर्छ। हरेक राष्ट्रले विश्वकप खेल्ने सपना देख्न पाउनुपर्छ,’ उनले भने।
उनले विश्वभरका टोलीहरूको स्तर निरन्तर उकासिँदै गएको उल्लेख गर्दै साना राष्ट्रलाई अवसर नदिए उनीहरूको विकासको प्रेरणा नै हराउने बताए।
‘तपाईंले देख्न सक्नुहुन्छ, टोलीहरूको स्तर अत्यन्त उच्च छ र विश्वभर अझ उच्च हुँदै गएको छ। यदि साना देशलाई विश्वकप खेल्ने अवसर दिइएन भने उनीहरूले अझ राम्रो बन्ने प्रेरणा गुमाउनेछन्,’ इन्फान्टिनोले भने।
३२ बाट ४८, अब ६४ टोलीको तयारी ?
सन् १९९८ देखि २०२२ सम्म विश्वकपमा ३२ टोली सहभागी हुने व्यवस्था थियो। हाल जारी सन् २०२६ को विश्वकप भने पहिलो पटक ४८ टोलीसहित आयोजना गरिएको हो।
क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा भइरहेको प्रतियोगितामा कुल १०४ खेल समावेश छन्। अहिले प्रतियोगितामा अर्जेन्टिना, इंग्ल्यान्ड, फ्रान्स र स्पेन मात्र बाँकी छन्। अब दुई सेमिफाइनल र फाइनल खेल मात्र हुन बाँकी छ।
इन्फान्टिनोले ४८ टोलीको ढाँचालाई ‘विशाल सफलता’ को संज्ञा दिए।
उनले भने, ‘हरेक टोलीले उच्च स्तरको प्रदर्शन गर्यो। सबै महादेशका टोलीले गोल गरे र कम्तीमा एक अंक जिते।’
अफ्रिकी टोलीहरूको प्रदर्शनलाई उदाहरण दिँदै उनले भने, ‘अफ्रिकाका १० मध्ये ९ टोली नकआउट चरणमा पुगे। अघिल्लो विश्वकपमा अफ्रिकाबाट केवल पाँच टोली मात्र थिए। यसले सबै टोलीलाई अवसर दिनु किन आवश्यक छ भन्ने स्पष्ट देखाउँछ।’
२०३० विश्वकप बहु–महादेशीय आयोजना
सन् २०३० को विश्वकप इतिहासकै फरक ढाँचामा आयोजना हुनेछ।
प्रतियोगिताका पहिलो तीन खेल क्रमशः उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइने छन्। त्यसपछि बाँकी सबै खेल मोरक्को, पोर्चुगल र स्पेनमा हुनेछन्।
यदि टोली संख्या ६४ पुर्याइयो भने दक्षिण अमेरिकी तीन आयोजक राष्ट्रले एक–एक खेल मात्र होइन, चार–चार टोली रहेको एक–एक समूहको आयोजना गर्न सक्ने सम्भावना पनि बढ्नेछ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्