Skip to content

खुल्यो अस्पतालको ओपीडी सेवा, बिरामीलाई राहत 

कालोपाटी

६ मिनेट अगाडि

काठमाडौं । चिकित्सकको हड्तालका कारण बन्द रहेको अस्पतालको ओपीडी सेवा आजबाट सुचारु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी आन्दोलित भएका थिए ।

मंगलबार र बुधबार अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल आएका बिरामी निराश भएर फर्किनुपरेको थियो ।

यही साउन ९ गते नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा। प्रमोद राममाथि आक्रमण भएको थियो ।

अस्पतालको इमर्जेन्सीमा आएका बिरामीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका डा। प्रमोदको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही नगरेको भन्दै देशभरका चिकित्सक सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए ।

बुधबार सरकार र नेपाल चिकित्सक संघबीच ५ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । आन्दोलन फिर्ता भएका कारण चिकित्सकहरू आजबाट नियमित सेवामा फर्किएका हुन् ।

दुई दिन बन्द गरेको ओपीडी खुलेपछि अस्पतालमा बिहानैदेखि बिरामीको भीड देखिएको छ ।

बानेश्वरस्थित निजामति कर्मचारी अस्पताल(सिभिल) मा बिहीबार बिहानैदेखि सेवाग्राहीको भीड देखिएको थियो ।

कोही अस्पताल छिर्दै थिए भने कोही जाँच गरिसकेर बाहिर निस्किरहेका थिए । केही बिरामी टिकट हातमा लिएर पालो कुरिरहेका देखिन्थे । कोही अस्पतालको पेटितिर बसेर सुस्ताइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार