Skip to content

बलिउड अभिनेता विवेक ओबेरोयलाई साक्षी राखेर नेपाली फिल्म ‘२६ करोड’को घोषणा

कालोपाटी

५५ मिनेट अगाडि

काठमाडौ । बलिउड अभिनेता विवेक ओबेरोयको उपिस्थतिका बिच नेपाली चलचित्र ‘२६ करोड’ निर्माणको औपचारिक घोषणा गरिएको छ ।

मंगलबार साँझ भारतको मुम्बईस्थित ‘ताज ल्याण्ड्स एन्ड’मा आयोजित समारोहका बीच चलचित्र निर्माणको घोषणा गरिएको हो । ओबेरोयको जन्मदिनको अवसरमा क्यान्सर पीडितको सहयोगार्थ क्यान्सर पेसेन्ट्स एड एसोसिएसनले आयोजना गरेको ‘रोज डे’ समाहरोहका बिच चलचित्रको घोषणा गरिएको हो ।

कार्यक्रममा चलचित्रको मुख्य अभिनेत्रीमा साहारा आर शाहलाई अनुबन्धित गरिएको छ । कार्यक्रममा निर्माता सुवास भुसाल र नव–नायिका शाहका बीच औपचारिक सम्झौता भयो । शाहले अनुपम खेरको एक्टर प्रिपेयर्स एक्टीङ्ग एकेडेमीमा अभिनय सिकेकी हुन् । अभिनेता ओबेरोयले शाहले चलचित्रमा डेब्यु गर्नु आफ्ना लागि जन्मदिनको सबैभन्दा ठुलो उपहार भएको बताए ।

अभिनेता ओबेरोयले लामो समयदेखि शाहको अभिभावकत्व सम्हाल्दै आएका छन् । शाह ३ वर्षको उमेरदेखि नै क्यान्सर रोगसँग संघर्षरत थिइन् । क्यान्सरलाई जितिसकेकी शाहलाई क्यान्सर पेसेन्ट्स एड एसोसिएसन (ऋएब्ब्) मार्फत अभिनेता ओबेरोयले स्वास्थ्योपचार, शिक्षा र संरक्षकत्व प्रदान गर्दै अएका छन् ।

चलचित्र घोषणा समारोहलाई सम्बोधन गर्दै अभिनेता ओबेरोय निकै भावुक बनेका थिए । उनले भने, ‘मैले साहारालाई क्यान्सरसँग लड्दै गरेको एउटा सानो बच्चाको रूपमा देखेको थिएँ। आज उनले क्यान्सरलाई जितेर चलचित्रको मुख्य नायिकाको रूपमा सम्झौता गरिरहँदा म शब्दमा बयान गर्न नसकिने गरी भावुक भएको छु ।’

समाजिक विषयवस्तु माथी निर्माण हुने चलचित्रमा विकास सुवेदीको लेखन तथा निर्देशन रहनेछ । निर्देशक सुबेदीले शाह अडिशन मार्फत चलचित्रमा छनौट भएको जानकारी दिए । कथा अनुसार हिन्दी लवजकी नायिका आवश्यक भएकोले पनि शाह छनौट भएको उनको भनाई छ ।

यसअघि नै चलचित्रको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का अनुबन्धित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार