Skip to content

कमला नदीमा बन्यो अस्थायी डाइभर्सन, १४ वर्षपछि पुल निर्माण अन्तिम चरणमा

कालोपाटी

४ दिन अगाडि

काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी डाइभर्सन निर्माण भएपछि सवारी आवत–जावत सहज भएको छ।

भासिएको पुलको विकल्पका रूपमा ह्युमपाइप प्रयोग गरी डाइभर्सन निर्माण गरिएपछि साना तथा ठूला सबै प्रकारका सवारीसाधन सञ्चालन हुन थालेका छन्। हप्तादिनअघिदेखि नै सार्वजनिक सवारी सञ्चालनमा आएको सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले जानकारी दिए।

उनका अनुसार डाइभर्सन सञ्चालनमा आएपछि स्थानीय बासिन्दा तथा छोटो दूरी प्रयोग गरी मधेस प्रदेशको राजधानी जनकपुर आवत–जावत गर्न सहज भएको छ।

गत मङ्सिर ५ गते तत्कालीन भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पुलको स्थलगत अनुगमन गर्दै पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका थिए। काम सन्तोषजनक नभए ठेक्का तोड्ने चेतावनी दिँदै अस्थायी रूपमा आवत–जावतको व्यवस्था मिलाउन निर्देशन दिएपछि निर्माण कम्पनीले ह्युमपाइप राखेर डाइभर्सन निर्माण गरेको हो।

यसअघि स्थानीय युवाले निर्माण गरेको बाँसको पुल प्रयोग गरी शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। बर्खायाममा बाँसको पुल बाढीले बगाउँदा स्थानीय बासिन्दा डुङ्गाको सहारामा ज्यान जोखिममा राखेर नदी वारपार गर्दै आएका थिए।

१४ वर्षपछि पुल निर्माण अन्तिम चरणमा

१४ वर्षदेखि अलपत्र अवस्थामा रहेको कमला नदीको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनीका अनुसार आगामी असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित हाल दैनिक ४० देखि ५० जना कामदार फिनिसिङ तथा मर्मत कार्यमा खटिएका छन्।

पप्पु लुम्बिनी जेभीले ठेक्का पाए पनि पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि हाल लुम्बिनी बिल्डर्सले पुल निर्माणको काम गरिरहेको छ। निर्माण कम्पनीका साइट इन्चार्ज सुदीप थापाले भने, “असार मसान्तभित्र पुलबाटै सवारी सञ्चालन हुने गरी बाँकी संरचनात्मक काम तीव्र रूपमा गरिरहेका छौँ।”

विसं २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पुल २०७८ साल असारमा आएको बाढीले दुईवटा पिलर भासिएर चारवटा स्ल्याबमा क्षति पुर्‍याएपछि थप ढिलाइ भएको हो।

स्थानीय युवा सन्तोष यादवका अनुसार लामो समयको प्रतीक्षापछि पुल निर्माण अन्तिम चरणमा पुगेको छ। उनले भने, “डाइभर्सनले तत्काल राहत दिएको छ, तर अब तोकिएको समयमै पुल निर्माण सम्पन्न हुनुपर्छ।”

हुलाकी राजमार्गको मेरुदण्ड मानिने यो पुल सम्पन्न भएपछि सिरहा र धनुषाका हजारौँ नागरिकको कष्टकर यात्रा अन्त्य हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार