Skip to content

मधेस प्रदेशमा बेपत्ता हुनेको सङ्ख्या भयावह, ६ महिनामा २ हजार ५७२ जना सम्पर्कविहीन

कालोपाटी

८ घण्टा अगाडि

काठमाडौँ । मधेस प्रदेशमा पछिल्लो छ महिनाको अवधिमा बेपत्ता हुने व्यक्तिको सङ्ख्या भयावह बनेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाका अनुसार अन्तिम छ महिनामा मधेस प्रदेशमा २ हजार ५७२ जना सम्पर्कविहीन भएका छन्। तीमध्ये १ हजार ५०१ जना फेला परिसकेका छन् भने बाँकी अझै सम्पर्कविहीन रहेका छन्। पुस महिनामा मात्र १ हजार ४४८ जना सम्पर्कविहीन भएको प्रहरीको तथ्याङ्क छ।

यसैबीच, जेन्जी आन्दोलनका क्रममा मधेस प्रदेशमा भएका क्षतिका विवरण पनि सार्वजनिक गरिएको छ। प्रवक्ता थापाका अनुसार आन्दोलनका क्रममा प्रदेशमा चार जनाको मृत्यु भएको थियो। साथै, २३४ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

सरकारी कार्यालयमा पुगेको क्षतिको कुल आकलन ५७ करोड ३५ लाख ५२ हजार १२५ रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। त्यसैगरी, आन्दोलनका क्रममा प्रहरीका सवारी साधनहरूमा समेत क्षति पुगेको बताउँदै कुल २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबरको क्षति भएको जानकारी दिइएको छ।

जेन्जी आन्दोलनकै क्रममा मधेस प्रदेशका विभिन्न कारागारबाट १ हजार ४५ जना कैदीबन्दी फरार भएका थिए। उनीहरूमध्ये ५७९ जना पक्राउ परिसकेका छन् भने बाँकी अझै फरार रहेका छन्।

त्यस्तै, बाल सुधार गृहबाट ६८ जना फरार भएका थिए। तीमध्ये २० जना पक्राउ परेका छन् भने ४८ जना अझै फरार अवस्थामा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार