Skip to content

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

कालोपाटी

११ घण्टा अगाडि

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ। काठमाडौंस्थित ग्राण्डी अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो १२:४५ बजे उनको निधन भएको हो।

सिटौला अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए। त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालले जारी गरेको विज्ञप्तिमा गम्भीर अवस्थाका बाबजुद ४८ घण्टासम्म उपचार गर्दा पनि उनको न्यूरोलोजिकल अवस्थामा सुधार नआएको उल्लेख छ। चिकित्सकीय प्रोटोकलअनुसार गरिएको ‘एप्निया परीक्षण’ पोजेटिभ आएपछि स्वतः श्वासप्रश्वास नभएको पुष्टि भएको र सोही आधारमा निधन भएको अस्पतालले जनाएको छ।

सिटौलाको निधनप्रति चलचित्र तथा पत्रकारिता क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार