Skip to content

मधेस प्रदेशका सांसद सिंह सहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । मधेस प्रदेशका निलम्बित सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु हुने भएको छ। उक्त मुद्दा विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।

मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो दाबी गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सिंहले उपभोक्ता समितिका खातामा जम्मा भएको रकम आफ्ना स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत झिक्न लगाई आफ्नो तथा श्रीमती सरिताकुमारी महतो सिंहको नाममा रहेको संयुक्त खातामा जम्मा गरी हिनामिना गरेको अभियोग छ।

सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी, रामशरण खत्वे, विभादेवी खत्वे, शम्भुकुमार मण्डल, योगिन्दर महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

अख्तियारका अनुसार विभिन्न उपभोक्ता समितिमार्फत सञ्चालन गरिएका धर्मशाला निर्माण, मन्दिर सौन्दर्यीकरण तथा सडक स्तरोन्नति योजनामा कमिसन लिएको पाइएको छ। ती योजनाका उपभोक्ता समिति अध्यक्ष तथा कोषाध्यक्षहरूसँग समेत छुट्टाछुट्टै रकम बिगो कायम गरी मुद्दा दायर गरिएको छ।

सिंहले आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका र सम्सी गाउँपालिकाका विभिन्न वडामा सञ्चालित योजनाहरूबाट औसत २८.२५ प्रतिशतका दरले कमिसन लिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

अख्तियारका अनुसार उपभोक्ता समितिहरूको नाममा लक्ष्मी सनराइज बैंकमा जम्मा भएको कुल १ करोड २६ लाख २७ हजार ४ सय ८१ रुपैयाँमध्ये ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ सिंहको संयुक्त खातामा सारिएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार