Skip to content

निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा १ हजार भन्दा धेरै जिज्ञासा

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । निर्वाचन आयोगले सञ्चालनमा ल्याएको कल सेन्टरमा एक हजारभन्दा बढी जिज्ञासा प्राप्त भएका छन्। आयोगले यही माघ ५ गतेदेखि सञ्चालन गरेको कल सेन्टरमा माघ १७ गतेसम्म जम्मा १ हजार ६ सय ७७ वटा जिज्ञासा आएका हुन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीमध्ये ९ सय ६ वटा जिज्ञासा मतदाता नामावलीसम्बन्धी रहेका छन्। त्यसैगरी निर्वाचन आचारसंहितासम्बन्धी १ सय ३५, मतदाता शिक्षासम्बन्धी ६१ र अन्य विषयमा ५ सय ७५ वटा जिज्ञासा प्राप्त भएका छन्।

प्रवक्ता भट्टराईले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी फैलाइने मिथ्या वा भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्तिमाथि निगरानी बढाइएको जानकारी दिनुभयो। गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति तथा संस्थालाई सम्बन्धित नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउने योजना अघि बढाइएको उहाँको भनाइ छ।

आयोगका अनुसार हानिकारक सूचना उत्पादन वा सम्प्रेषण गर्ने १ सय २० जना विषयवस्तु उत्पादक तथा सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाइएको छ। यस्तै, ६ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ।

त्यसैगरी १५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाहीका लागि प्रेस काउन्सिल नेपालमा र ३४ वटालाई निर्वाचन आचारसंहिता, २०८२ अनुसार कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले जनाएको छ।

आयोगले निर्वाचन शिक्षालाई प्रभावकारी बनाउन निजी क्षेत्रसँग पनि छलफल गरेको जनाएको छ। निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म १ सय ५८ सामग्री स्वीकृत गरी आयोगको आधिकारिक फेसबुक, एक्स, टिकटक र युट्युबमार्फत सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार