Skip to content

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी

कालोपाटी

१ दिन अगाडि

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले इतिहासमै पहिलोपटक आमाको नामबाट नागरिकता जारी गरेको छ। सोमबार लालबन्दी नगरपालिका–७ का राम मनोहर गुप्तालाई आमाको नाममा अङ्गीकृत नेपाली नागरिकता प्रदान गरिएको हो।

नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनका आधारमा बाबु विदेशी र आमा नेपाली भएका गुप्तालाई नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले जानकारी दिए।

संशोधित ऐन र नियमावली लागू भएपछि आमाको नामबाट सोमबार पहिलोपटक नागरिकता जारी गरिएको जनाउँदै प्रजिअ कँडरियाले यसले बुबाको पहिचान नभएका वा विदेशी बुवा र नेपाली आमाबाट जन्मिएका सन्तानका लागि नागरिकता पाउने बाटो खुलेको बताए। यसबाट जिल्लामा लामो समयदेखि नागरिकताविहीन रहेका धेरै नेपाली सन्तानको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

संशोधन ऐन कार्यान्वयनका लागि आफूले दुई हप्ता अगाडिदेखि नै जिल्लाका सबै २० वटै स्थानीय तहमा परिपत्र पठाइएको उल्लेख गर्दै प्रजिअ कँडरियाले सोही प्रक्रियाअनुसार आवश्यक कागजात पूरा गरी नागरिकता जारी गरिएको जानकारी दिए।

नागरिकता नहुँदा शिक्षा र सीप हुँदाहुँदै पनि रोजगारी, बैंक खाता खोल्न तथा सिमकार्ड प्रयोग गर्नसमेत कठिनाइ भोग्दै आएका नागरिकका समस्या अब समाधान हुने विश्वास उनले व्यक्त गरे।

नागरिकता प्राप्त गरेपछि प्रतिक्रिया दिँदै राम मनोहर गुप्ताले आफू औपचारिक रूपमा नेपाली नागरिक बनेकोमा खुशी व्यक्त गरे। “नेपाली नागरिक आमाबाट नेपालमै जन्मिएको सन्तानले आफूलाई नेपाली प्रमाणित गर्न गर्नुपरेको सङ्घर्ष निकै पीडादायी र चुनौतीपूर्ण थियो,” उनले भने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार