Skip to content

‘ग्यासको अभाव छैन’ : आयल निगम

कालोपाटी

५ दिन अगाडि

काठमाण्डौ । उपभोक्ताले खाना पकाउने ग्यास सहजै पाउन नसकेको गुनासो उठाइरहेका बेला नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नभएको दाबी गरेको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उद्योगहरूलाई सिलिण्डर आपूर्ति सहज बनाउन निर्देशन दिइएको जानकारी दिएको छ।

निगमका अनुसार भारतबाट जनवरी महिनामा ४७ हजार ३ सय ४ मेट्रिक टन ग्यास आयात भएको थियो। त्यस्तै, नोभेम्बरमा ४७ हजार २ सय ६४ र डिसेम्बरमा ४८ हजार ५ सय ३१ मेट्रिक टन ग्यास आयात भएको थियो। आयात अनुसार जाडो यामको माग धान्न पर्याप्त ग्यास रहेको निगमको भनाइ छ।

हाल केही एकाध उद्योगमा सिलिण्डरको अभाव देखिएको हुँदा ती उद्योगलाई आपूर्ति सहज बनाउन निर्देशन दिइएको प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।

साथै, बजारमा एलपी ग्यासको अवस्था, माग र आउँदो चुनावलाई मध्यनजर गर्दै फेब्रुअरी महिनाका लागि थप दुई हजार मेट्रिक टन ग्यास उपलब्ध गराउने तयारी गरिएको उनले बताए। निगमले आवश्यकतानुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार