काठमाडौँ । भारतको बिहारमा जागिरको प्रलोभन देखाएर नेपाली युवकलाई बन्धक बनाई रकम असुल्ने गिरोहका दुई सदस्यलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–७ का २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका–११ पररिया चोकका २२ वर्षीय प्रशान्त चौधरी रहेका छन्।
घटनाको विवरणअनुसार गिरोहका सदस्यहरूले कल्याणपुर–७ का २८ वर्षीय रिशकेश कुमार मरिकलाई अनलाइनमार्फत भारतस्थित गयाको एक कन्स्ट्रक्सन कम्पनीमा राम्रो काम लगाईदिने प्रलोभन देखाएका थिए। गत पुस २० गते मरिकलाई बोधगयामा एउटा होस्टलमा बन्धक बनाइएको थियो।
त्यहाँ उनको मोबाइल र शैक्षिक प्रमाणपत्र खोसेर कोठामा थुनी कुटपिट तथा मानसिक यातना दिइएको थियो। ज्यान मार्ने धम्की दिँदै उनले मरिकको परिवारबाट क्युआर कोड र बैंक खातामार्फत २ लाख १७ हजार २०० रुपैयाँ असुलेका थिए भने मरिकसँग रहेको नगद ३० हजार भारु समेत लुटेका थिए।
बन्धक बनाइएको ठाउँबाट तालिमका नाममा आपराधिक क्रियाकलाप सिकाउन थालेपछि मरिक ज्यान जोगाएर नेपाल भाग्न सफल भएका थिए। माघ १५ गते जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो।
सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालका अनुसार सुरज मुखियालाई माघ १६ गते कल्याणपुरबाट र प्रशान्त चौधरीलाई माघ १७ गते लहानबाट पक्राउ गरिएको हो। पक्राउ परेका दुवैमाथि शरीर बन्धक सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्