Skip to content

काठमाडौं महानगरको ‘भीआइपी लिफ्ट’ सुनीता डंगोलको निर्देशनमा सबैका लागि खुला

कालोपाटी

१६ घण्टा अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालयमा रहेको ‘भीआइपी लिफ्ट’ अब सबैले प्रयोग गर्न पाउने भएका छन्। कार्यवाहक मेयर सुनीता डंगोलको निर्देशनमा लिफ्टमा राखिएको पासवर्ड हटाएर सेवाग्राहीहरूले पनि चढ्न सक्ने व्यवस्था गरिएको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिएका छन्। लिफ्टको पासवर्ड माघ ६ गते नै हटाइएको हो।

सुरुमा लिफ्ट मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत मात्रै प्रयोग गर्न पाउने व्यवस्था थियो। काठमाडौं महानगरपालिकाको कमलादी कार्यालयमा तीन वटा लिफ्ट सञ्चालनमा छन्। यीमध्ये ‘भीआइपी लिफ्ट’ सन् २०८१ साउनमा बनेको हो र त्यसयता सर्वसाधारणका लागि प्रयोगमा थिएन।

महानगरमा दुईवटा कार्यालय भवन छन्। एक भवनमा मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहेका छन् भने अर्को आधा भागमा विभिन्न विभाग, शाखा र महाशाखाहरूको कार्यालय छन्। नयाँ लिफ्टले तेस्रोदेखि छैठौं तल्लासम्मको पहुँच दिँदै आएको छ।

सर्वसाधारणले अब मेयर, उपमेयर वा प्रमुख प्रशासकीय अधिकृतको कार्यालय पुग्दा लिफ्ट प्रयोग गर्न सक्ने भएका छन्। यसअघि लिफ्ट ‘लक’ भएकाले सेवाग्राहीहरू भर्याङ प्रयोग गर्न बाध्य थिए।

यस कदमले कार्यालयमा सेवाग्राहीको पहुँच सजिलो बनाउने र समय बचत हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार