काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘अबकी बार, सय पार’ लाई पार्टीको चुनावी नारा बनाउँदै चुनावी अभियानमा खटिन पार्टीपंक्तिलाई निर्देशन दिएका छन्। पोखरामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको भ्युज र लाइक्सको पछाडि मात्र नलागी प्रत्येक घर–घरमा पुग्न कार्यकर्तालाई आग्रह गरे।
थापाले कांग्रेस १६५ वटै निर्वाचन क्षेत्रमा चुनाव लड्ने देशकै एक मात्र पार्टी भएको उल्लेख गर्दै संगठनको तागतले स्पष्ट बहुमत ल्याउन सकिने दाबी गरे। उनले भने, “कांग्रेसको कार्यकर्ताले रुख चिन्हबाहेक अन्त कतै मत हाल्ने कुरा स्वीकार्य हुँदैन। अब ‘अबकी बार यो सरकार’ होइन, ‘अबकी बार सय पार’ भन्ने नारा लिएर अघि बढ्नुपर्छ।”
कांग्रेस १० लाख क्रियाशील सदस्य भएको पार्टी भएको उल्लेख गर्दै थापाले विगतमा विभिन्न कारणले पार्टी छोडेका नेता–कार्यकर्तालाई खुलेर स्वागत गर्नुपर्ने बताए। उनले असन्तुष्टिका कारण पार्टी छोडेकाहरूलाई पुनः फर्कन आह्वान गर्दै उनीहरूका गुनासो सम्बोधन गर्ने प्रयास भइरहेको दाबी गरे।
थापाले अघिल्लो निर्वाचनमा पार्टीभित्र असन्तुष्टि हुँदाहुँदै पनि कांग्रेसले समानुपातिकतर्फ २७ लाखभन्दा बढी मत पाएको स्मरण गराए। उनले हल्लाबाट नडराई संगठनको शक्तिमा भरोसा गर्न कार्यकर्तालाई आग्रह गरे।
सामाजिक सञ्जालमा सक्रिय हुनुपर्ने तर त्यसमै सीमित नहुने स्पष्ट गर्दै थापाले भने, “हाम्रो वास्तविक तागत भनेको घर–घर पुग्न सक्ने क्षमता हो। गाउँ–गाउँ, टोल–टोल पुगेर मतदातासँग बसेर कुरा गर्नुपर्छ।”
उनले चुनावी प्रचारशैली परिवर्तन गर्नुपर्नेमा जोड दिँदै प्रत्येक मतदातासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको कुरा सुन्न र आफ्ना कुरा राख्न आग्रह गरे। “एक पनि घर, एक पनि मतदाता छुट्न हुँदैन,” थापाले भने, “गाली र प्रश्नबाट भाग्ने होइन, सामना गर्ने शक्ति कांग्रेससँग छ।”
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्