Skip to content

वैदेशिक राेजगारीमा पठाइदिने भन्दै ठगी गर्ने ४ महिलासहित ५ जना पक्राउ

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ  । आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले चार महिलासहित पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौँ कीर्तिपुर नगरपालिका–२ घर भई ललितपुर धापाखेल बस्ने ४३ वर्षीया विना महर्जन र ४५ वर्षीया विन्दा महर्जन, बागलुङ काठेखोला गाउँपालिका–२ घर भई काठमाडौँ चन्द्रागिरि बस्ने ४३ वर्षीया कोपिला शर्मा, धनकुटा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२६ बस्ने ३१ वर्षीय सन्तोष राई तथा काभ्रे चौँरीदेउराली नगरपालिका–९ घर भई काठमाडौँ बूढानीलकण्ठ बस्ने ४८ वर्षीया कुमारी तामाङ रहेका छन्।

उनीहरूले अमेरिका, बेलायत, कम्बोडिया र पोर्चुगल पठाइदिने भन्दै पीडितहरूबाट ३ लाख ७० हजारदेखि १३ लाख ६० हजार रुपैयाँसम्म रकम असुली सम्पर्कविहीन भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ परेका सबैलाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार