Skip to content

निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ६ दिन सार्वजनिक बिदा दिनुपर्ने मागसहित बझाङको साइपाल गाउँपालिकाका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पठाएका छन्।

मतदाताको सहभागिता बढाउन फागुन १८ देखि २३ गतेसम्म सार्वजनिक बिदा दिन आवश्यक रहेको उनीहरूको माग छ। साइपाल गाउँपालिकाका युवाहरूले इमेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन्।

ज्ञापनपत्रमा प्रतिनिधिसभा निर्वाचनलाई केवल प्रशासनिक प्रक्रिया मात्र नभई राष्ट्रको भविष्य कोर्ने ऐतिहासिक तथा लोकतान्त्रिक महत्त्वको राष्ट्रिय पर्वको रूपमा वर्णन गरिएको छ।
“यो दिन नागरिकको आवाज मतपत्रमार्फत बोल्ने दिन हो, त्यसैले निर्वाचनलाई सहज र व्यापक सहभागितामूलक बनाउनु राज्यको सर्वोच्च दायित्व हो,” ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

ज्ञापनपत्रअनुसार फागुन १८ गते पहाडी क्षेत्रमा होली र १९ गते तराई क्षेत्रमा होली परेकाले यी दुवै दिन देशभर सार्वजनिक बिदा दिनुपर्ने माग गरिएको छ। साथै, २० गते निर्वाचनको अघिल्लो दिन, २१ गते निर्वाचनको दिन, २२ गते शुक्रबार भएकाले मतदानपछि गन्तव्य फर्कन सहज होस् भन्ने माग गरिएको छ। २३ गते शनिबार परेकाले सो दिन पनि स्वाभाविक रूपमा बिदा पर्नेछ।

साइपालका युवा साजन बोहराका अनुसार फागुन २० र २२ गते सरकारले निर्णय गरी सार्वजनिक बिदा दिएमा कुल ६ दिन मतदानमैत्री वातावरण बन्नेछ।
“यसरी बिदा दिइएमा रोजगारी वा अन्य कारणले घरबाहिर रहेका मतदाताहरू पनि सहज रूपमा मतदानमा सहभागी हुन सक्नेछन्,” बोहराले बताए।

नेपालको भौगोलिक बनावट, यातायातको अवस्था, रोजगारीको स्वरूप तथा विभिन्न पेशा–उद्योगलाई ध्यानमा राख्दै सरकारले यस्तो निर्णय लिन आवश्यक रहेको उनको भनाइ छ।

“विदेशमा रहेका नेपालीलाई तत्काल मतदानको व्यवस्था गर्न नसकिए पनि देशभित्र रहेका नागरिकलाई मतदान गर्ने वातावरण त बनाइदिनुपर्‍यो,” बोहराले भने, “यसले देशव्यापी मतदाता सहभागिता उल्लेख्य रूपमा बढाउनेछ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार