काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने तयारीमा रहेका राजावादी समूहलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक लगाएको छ। निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा यसप्रकारका कार्यक्रम गर्न नपाइने भन्दै प्रशासनले बन्देज लगाएको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले मंगलबार सूचना जारी गर्दै विमानस्थल र आसपास क्षेत्रमा प्रदर्शन तथा र्याली गर्ने तयारीबारे सामाजिक सञ्जालमा आएका सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएका छन्। यस्ता गतिविधिका लागि प्रशासनसँग कसैले पूर्वस्वीकृति नलिएको पनि उनले स्पष्ट पारे।
हाल निर्वाचन आचारसंहिता लागू रहेको र यस्ता कार्यक्रमहरूमा निर्वाचनविरोधी समूहको घुसपैठ हुन सक्ने सम्भावनालाई समेत ध्यानमा राखिएको प्रशासनको भनाइ छ। साथै, फागुन ३ गतेको महाशिवरात्रि पर्व व्यवस्थापन, धार्मिक–सांस्कृतिक आस्थाको सम्मान र अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, हडताल, र्याली वा भेला नगर्न–नगराउन आग्रह गरिएको छ।
विमानस्थलसम्म आवतजावत गर्ने यात्रुहरूको सहज आवागमन सुनिश्चित गर्न पनि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। सामाजिक सञ्जालमार्फत यस्ता गतिविधि उक्साउने वा प्रेरित गर्ने कार्य नगर्नसमेत चेतावनी दिइएको छ।
निषेधित तथा संवेदनशील क्षेत्रमा कानुनविपरीत गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्