काठमाडौं । पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह आज पोखरामा सम्पन्न भएको छ । समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशीला कार्कीले दीक्षित विद्यार्थीहरूलाई राष्ट्र निर्माणमा सक्रिय योगदान दिन आह्वान गरिन् । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले दीक्षान्त केवल शैक्षिक यात्राको औपचारिक समापन नभई जीवनको नयाँ र महत्वपूर्ण प्रस्थानबिन्दु भएको उल्लेख गरिन् । उनले उच्च शिक्षा हासिल गरेका युवाहरूले आफ्नो ज्ञान र सीपलाई व्यक्तिगत उन्नतिमा मात्र सीमित नराखी राष्ट्र र समाजको समुन्नतिमा प्रयोग गर्नुपर्ने बताइन् ।
प्रधानमन्त्री कार्कीले मुलुकको विकास र समृद्धिका लागि दक्ष, इमान्दार र जिम्मेवार जनशक्तिको आवश्यकता औंल्याउँदै नवप्रवर्तन, उद्यमशीलता र अनुसन्धानमा आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखिन् । बदलिँदो विश्व परिवेशमा प्रतिस्पर्धी र सक्षम बन्न नवीन प्रविधिसँग अनुकूल हुन युवाहरूलाई सुझाव दिँदै उनले विश्वविद्यालयहरूले समयसापेक्ष, व्यावहारिक र रोजगारमुखी शिक्षा प्रदान गर्नुपर्ने बताइन् ।
उनले अध्ययन पूरा गरेलगत्तै ठूलो संख्यामा युवाहरू विदेशिनु चिन्ताको विषय भएको उल्लेख गर्दै स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण निर्माणमा विश्वविद्यालय, सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन् । पाठ्यक्रम र पठन पद्धतिलाई उद्यमशीलता तथा आत्मनिर्भरतातर्फ उन्मुख गराउनुपर्नेमा उनको जोड थियो ।
प्रधानमन्त्री कार्कीले अनुशासन, परिश्रम र मानवीय मूल्यहरू दीर्घकालीन सफलताका आधार भएको उल्लेख गर्दै दीक्षित विद्यार्थीहरूलाई सकारात्मक सोच, निष्ठा र जिम्मेवारीबोधका साथ अघि बढ्न आग्रह गरिन् । साथै लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवद्र्धन र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि आगामी निर्वाचनमा सक्रिय सहभागिताको आह्वान गरिन् । समारोहमा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्