Skip to content

निलम्बित मेयर भरतकुमार थापाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु

कालोपाटी

१७ घण्टा अगाडि

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ ।

थापाविरुद्धको मुद्दा मंगलबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध माछापोखरी निर्माणका नाममा ५६ करोड ७१ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भन्दै सोही बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । अख्तियारले बागमतीको वडा नं। ४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिट्टी, बालुवा र माटो उत्खनन गरेर बनेको खाल्डोमा माछापोखरी निर्माणका नाममा सङ्घ र प्रदेशबाट करोडौँ रकम माग गरी हिनामिना गरेको अभियोग लगाएको छ ।

आयोगले मेयर थापासहित उपमेयर लिलाकुमार मोक्तान र पूर्वमन्त्री विजयकुमारविरुद्ध जनही ५६ करोड ७१ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ ।

अख्तियारले मेयर थापासहित बिमलकुमार पोखरेल, सागर पौडेल, विश्वराज पोखरेल, निरञ्जन लामिछाने, विजयकुमार, गोकुल भुजेल र लीला कुमारी मुक्तानलाई पनि विपक्षी बनाएको छ । प्रतिवादीहरूले माछापोखरी निर्माणको नाममा पोखरीसहितका गैरकानुनी संरचना निर्माण गरी साबिक वन ऐन, २०४९ तथा प्रचलित वन ऐन, २०७६ बमोजिम कसुर गरेको अभियोग छ ।

मधेस प्रदेश सरकारबाट पटक–पटक माछाविहीन पोखरीका लागि अनुदान लिएको, निर्माण पूरा नभएको अवस्थामा तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमारले एमओयूमा हस्ताक्षर गरी ३० करोड रुपैयाँ अनुदान दिएको आरोप पनि लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार