Skip to content

‘उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा हो’: वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल

कालोपाटी

६ घण्टा अगाडि

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै हेमराज ढकालले उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताउनुभएको छ ।
हाल वस्तुगत उपाध्यक्ष रहनुभएका ढकालले आफूले प्रतिकूल परिस्थितिमा समेत उल्लेखनीय काम गर्न सफल भएको दाबी गर्दै उत्पादनमुखी अर्थतन्त्र र व्यवसायीको मनोबल बढाउनु नै आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको हो ।

निजी क्षेत्रका समस्या समाधान नै आफ्नो मुख्य दायित्व रहेको बताउँदै उहाँले आफू निर्वाचित भए सरकारसँग राख्नुपर्ने विषय स्पष्ट रूपमा राख्ने र आवश्यक परे सरकारी निकायका ढोका ढक्ढक्याउने बताउनु भयो । राजधानीमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उहाँले अघिल्लो कार्यकालमा नीतिगत स्थिरता कायम गर्न तथा विभिन्न कानून संशोधन गर्न पहल गरिएको बताउनु भयो । कर सुधारका क्षेत्रमा समेत महत्वपूर्ण उपलब्धि हासिल भएको उहाँको भनाइ थियो । यद्यपि राजनीतिक अस्थिरताका कारण व्यवसायीहरूमा केही त्रासको अवस्था सिर्जना भएको र लगानीमैत्री वातावरण अपेक्षाअनुसार तयार हुन नसकेको उहाँले स्वीकार गर्नुभयो । ढकालले आगामी दिनमा सरकारी तहमा रोकिएर बसेका कानूनहरू पारित गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै बजारलाई चलायमान बनाउन, थलिएको अर्थतन्त्रलाई सुदृढ गर्न र आर्थिक वृद्धि दर कायम राख्न निजी क्षेत्र सक्रिय रूपमा लाग्ने बताउनु भयो ।

देशबाट युवाहरूको विदेशिने क्रम रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले उत्पादनमुखी अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने बताउनु भयो । व्यवसायीका हक–हित संरक्षण, नीतिगत सुधार तथा समस्या सहजीकरण आफ्नो प्राथमिकता रहने उहाँको भनाइ थियो ।
वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले भन्नुभयो– ‘प्रतिकुल अवस्थामा पनि धेरै काम हुन सकिरहेको छ । अब आउने जेन–जी आन्दोलन पछाडी समावेशिताको कुरा आइरहेको छ । आर्थिक एजेण्डा पनि अघि बढिरहेको अवस्थामा हामी पनि निजी क्षेत्रको छाता संगठनको नाताले नेपाल उद्योग वाणिज्य महासंघ त्यत्तिकै सक्रिय भएर सरकारसँग स्पष्ट रुपमा कुरा राख्नेछौँ ।

अर्थतन्त्र चलायमान नभएको अवस्थामा अर्थतन्त्रमा परेको प्रेसरबाट माथि उठ्न काम गर्नुपर्नेछ । त्यसका लागि महासंघका सदस्यहरुको म्यान्डेटअनुसार अघि बढ्नेछौँ । म लगायत मेरो टिमलाई विश्वास गर्न आग्रह गर्दछु ।’
वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका ढकालले निजी क्षेत्र विभाजित नभई एकजुट भएर टिम बनाउनका लागि पनि आफ्नो टिम तयार रहेको स्पष्ट पार्नुभयो । महासंघको आसन्न निर्वाचनको लागि ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभयो । हाल उहाँ एसोसिएट उपाध्यक्ष नै हुनुहन्छ । त्यस्तै, ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया, कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र उपाध्यक्ष प्रस्तावित महिलामा कमला श्रेष्ठलगायतले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार