Skip to content

अपि हिमाल गाउँपालिकाको दुधिला केन्द्रमा मतदान सुरु नै भएन

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । दार्चुलाको अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला मावि मतदान केन्द्रमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन। स्थानीय मतदाता केन्द्रमा उपस्थित नभएपछि मतदान प्रक्रिया अवरुद्ध भएको हो।

यसअघि नै स्थानीयले दुई वटा केन्द्रमा मतदान नगर्ने निर्णय गरेका थिए। नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर आधारभूत विद्यालय, नागु र अपिहिमाल–३ को दुधिला आधारभूत विद्यालय, झुस्कुका मतदाताले ‘नो भोट’ अभियान अन्तर्गत मतदान बहिष्कार गर्ने घोषणा गरेका हुन्।

नागुमा प्रदेश सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालले बुधबार स्थानीयसँग छलफल गरे पनि उनीहरू निर्णयबाट पछि हटेनन्। संघर्ष समितिका संयोजक करनसिंह डडालका अनुसार माघ १ गतेदेखि नै ‘नो भोट’ अभियान सुरु गरिएको हो। प्रदेश सरकारबाट ढिलोगरी पहल भएको र आश्वासनप्रति जनतामा विश्वास नरहेको उनले बताए।

यसअघि प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको टोली पनि स्थानीयलाई मतदानमा सहभागी गराउन पुगेको थियो। नागुस्थित गौरीशंकर मावि केन्द्रमा ६०२ मतदाता रहेका छन्।

यस्तै, अपिहिमाल–३ का केही बस्तीका बासिन्दाले वडा विभाजनको माग राख्दै मतदान बहिष्कार गरेका छन्। स्थानीय कमलसिंह रोकायाका अनुसार ०७४ सालको वडा विभाजनपछि वडा कार्यालय अपायक स्थानमा राखिएको भन्दै विभाजन नभएसम्म मतदान नगर्ने अडान लिइएको हो।

दुधिला आधारभूत विद्यालय केन्द्रअन्तर्गत झुस्कु, चौड, छविस र भट्टार गाउँका ३४६ मतदाताले मतदान नगर्ने निर्णय दोहोर्‍याएका छन्। स्थानीयको अडानका कारण ती केन्द्रमा मतदान प्रक्रिया अन्योलमा परेको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार