काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता कायम गरेका छन्। ठूला भनिएका दलका हेभीवेट नेताहरूलाई पछि पार्दै झापाका ५ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरुले अग्रता लिएका छन् ।
सबैभन्दा बढी चर्चामा रहेको झापा निर्वाचन क्षेत्र नम्बर -५मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले नेकपा एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई निकै पछाडि पारेका छन्। शाहले हालसम्म ६ हजार ५ सय ५१ मत प्राप्त गर्दा ओलीले १ हजार ४ सय २८ मत मात्र पाएका छन्। यस क्षेत्रमा कांग्रेसकी मन्धरा चिमरिया १८६ मतका साथ तेस्रो स्थानमा छिन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्र मानिने झापा–३ मा पनि रास्वपाकै उम्मेदवार प्रकाश पाठक अगाडि छन्। पाठकले ४ हजार ७५ मत ल्याउँदा लिङ्देन २ हजार ७ सय ७९ मतका साथ दोस्रो स्थानमा छन्। एमालेका हरिबहादुर राजवंशी १ हजार ३७ मतसहित तेस्रो स्थानमा छन्।
झापा–१मा रास्वपाकी निशा डाँगी ३ हजार १७० मतसहित अग्रस्थानमा छिन्। उनलाई कांग्रेसका केशवराज पाण्डेले १ हजार २८ मतका साथ पछ्याइरहेका छन्। यस्तै, झापा–२मा रास्वपाकी इन्दिरा राना मगर ३ हजार ३ सय ९५ मतसहित अगाडि छिन्। यहाँ एमालेका देवराज घिमिरे १ हजार ३ सय १० मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेसकी सरिता प्रसाई १९१ मतमा सीमित छिन्।
झापा–४मा पनि रास्वपाकै शम्भुप्रसाद ढकाल ५ हजार २ सय ५४ मतका साथ अग्रस्थानमा छन्। एमालेका लालप्रसाद साँवा लिम्बू १ हजार २ सय ४८ मतका साथ दोस्रो र कांग्रेसका देउकुमार थेवे ४७० मतका साथ तेस्रो स्थानमा छन्।जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्