Skip to content

बुद्ध एयरको एटीआर-७२ जहाजको बिदाइ

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुद्ध एयरले कल साइन ( 9N-AJO)  रहेको एटीआर–७२ जहाजलाई औपचारिक रूपमा बिदाइ गरेको छ । एटीआर–७२ जहाजको अधिकतम उडान क्षमता ७२,००० साइकल हो । ‘साइकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ ।

यो एटीआर–७२ जहाज २ जुलाई २०१० देखि व्यावसायिक उडानमा संलग्न थियो । यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट–काठमाडौँसम्म गरिएको थियो । १६ वर्षे उडान अवधिभर यस जहाजले २४ लाख ८२ हजार ७ सय बहत्तर जना यात्रु बोकेको थियो ।

बिदाइ क्षणमा भावुक हुँदै बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले भने– ‘यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो, वातावरणमैत्री बनाउन ठुलो योगदान दियो । यसले बुद्ध एयरको बजार बिस्तार तथा साख बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । हामीले एटीआर जहाजको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छौँ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका जनरल म्यानेजर टेकनाथ सिटौलाले बुद्ध एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता र उत्कृष्ट मर्मत–सम्भार तथा व्यवस्थापनका कारण आज एटीआर जहाजलाई सफलतापूर्वक बिदाइ गर्न सम्भव भएको बताए ।

एटीआर कम्पनीका सिनियर भाइस प्रेसिडेण्ट स्टेफानो माराज्जनीले बुद्ध एयरसँगको साझेदारीप्रति गहिरो खुसी व्यक्त गर्दै भने – ‘एटीआर कम्पनीले डिजाइन र निर्माण गरेको यो विमान योग्य हातहरू एवं सही वातावरण तथा उत्कृष्ट प्राविधिक प्रणालीको साथमा अन्तिम उडानसम्म सुरक्षित रूपमा सेवा दिन सक्षम भयो । यसले बुद्ध एयरको उच्च सुरक्षा प्रतिबद्धता पुनः प्रमाणित गरेको छ ।’

यसअघि बुद्ध एयरले एटीआर–४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा पनि बिदाइ गरेको थियो । बुद्ध एयरले आन्तरिक रूपमा देशैभरि तथा पोखराबाट सिधा नेपालगन्ज, भैरहवा र भरतपुरको उडान भरिरहेको छ । साथै, अन्तर्राष्ट्रियतर्फ भारतको वाराणसी तथा कोलकाता पनि उडान भरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार