Skip to content

‘बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ’: विद्यादेवी भण्डारी

कालोपाटी

१ घण्टा अगाडि

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने जघन्य अपराधका दोषीहरूलाई कडाभन्दा कडा कानूनी कारबाही गर्न राज्य संयन्त्रले तदारुकता देखाउनुपर्ने बताउनुभएको छ ।

११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाली महिलाहरू अझै पनि सुरक्षित र सम्मानित रूपमा बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित हुनुपरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

समाजमा बढ्दै गएको घरेलु हिंसा, एसिड आक्रमण, यौन दुव्र्यवहार, बलात्कार तथा हत्या जस्ता घटनाहरूप्रति लक्षित गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्ता अमानवीय कार्यले सिंगो समाजलाई नै कलंकित बनाएको बताउनु भयो । अपराधीहरूले उन्मुक्ति पाउने वा कानूनी छिद्रको प्रयोग गरेर उम्कने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । राज्यको ध्यानाकर्षण गराउन र पीडितलाई न्याय दिलाउन नागरिक समाज र महिला अधिकारवादी संगठनहरूको भुमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्न व्यक्तिहरु विरुद्ध हदसम्मको कानूनी कारबाही गर्न राज्यले तदारुकता देखाउनु आवश्यक छ । यसका लागि नागरिक समाज र महिला संगठनहरुले निरन्तर आवाज उठाइरहनु अपरिहार्य छ ।

त्यसैले आज हामीले भूमिगत राजनीतिमा संलग्न अग्रज महिलाहरुको शाहस र समर्पणबाट प्रेरणा लिँदै नयाँ पुस्तालाई समेत न्याय, समानता र स्वतन्त्रताको मार्गमा अगाडि बढाउन प्रेरित गर्नुपर्छ भन्ने मलाई लाग्दछ। यहाँहरु जस्ता शाहसी र हिम्मतिला महिलाहरुले नेपाली समाजको अग्रगति र प्रगतिशील रुपान्तरणका लागि भूमिगत राजनीति मार्फत पु¥याउनुभएको अतुलनीय योगदानको सम्मान, अभिलेखन तथा प्रकाशनमार्फत न्याय र समानताको पक्षमा निरन्तर सक्रिय रहन नयाँ पुस्तालाई समेत प्रेरणा मिल्नेछ भन्ने मैले अपेक्षा गरेको छु ।’

विगतमा महिला अधिकारका लागि लडेका योद्धाहरूको स्मरण गर्दै उहाँले नयाँ पुस्ताले पनि न्याय, समानता र स्वतन्त्रताको पक्षमा निरन्तर खबरदारी गरिरहनुपर्ने आवश्यकता औंल्याउनु भयो । महिला सुरक्षाको प्रत्याभुति बिना समृद्ध समाजको निर्माण असम्भव रहेको बताउँदै उहाँले न्याय प्रणालीलाई छिटो, छरितो र पीडितमैत्री बनाउन सरोकारवालाहरूको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार