Skip to content

डढेलो व्यवस्थापन सप्ताह आजदेखि शुरू

कालोपाटी

१ घण्टा अगाडि

काठमाण्डौ – ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ आजदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह’ शुरू भएको छ ।

वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति २०६७ अनुसार हरेक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन सप्ताह’ मनाउँदै आएको छ । वनमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी सप्ताह मनाउन लागिएको हो ।

वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना बढाउनु नै महत्त्वपूर्ण रहेको र सप्ताहका अवसरमा सबै डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह, विकास तथा संरक्षण साझेदार संस्था तथा सम्बन्धित सरोकारवाला निकायलाई आ–आफ्नो कार्यक्षेत्रमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

सप्ताहको अवसरमा जनचेतना अभिवृद्धि कार्यक्रम, समुदाय तथा विद्यालयस्तरीय अभिमुखीकरण, प्रचारप्रसार अभियान, जोखिमयुक्त क्षेत्रहरूको अनुगमन, वन क्षेत्रमा अग्निरेखा निर्माण, सरसफाइ तथा अन्य उपयुक्त डढेलो व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले विशेषगरी सुदूरपश्चिम, बागमती र कर्णाली प्रदेशमा डढेलोको जोखिम उच्च देखिएको बताउनुभयो । डढेलोको भौगोलिक वितरणले तराई–चुरे तथा मध्यपहाडी वन क्षेत्रमा जोखिम उच्च रहेको सङ्केत गरेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा सुक्खायाम शुरू भएसँगै विशेषगरी फागुनदेखि जेठसम्म वन क्षेत्रमा डढेलो लाग्ने गर्छ । डढेलोका कारण वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन, जलस्रोत, मानव स्वास्थ्य तथा जनधनमा गम्भीर नकारात्मक प्रभाव पर्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि समयमै प्रभावकारी पूर्वतयारी, समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार