Skip to content

‘वन क्षेत्रलाई अर्थतन्त्रको मुख्य खम्बा बनाउनुपर्छ’ :अर्थमन्त्री

कालोपाटी

१९ मिनेट अगाडि

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै यसलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार संघीय संसद भवनको प्राङ्गणमा वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै उनले वन क्षेत्रलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका हुन् ।मन्त्री खनालले मन्त्रालयमा हुँदा वन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्‍याउन सक्ने योगदानबारे नजिकबाट बुझ्ने अवसर पाएको बताए ।वन क्षेत्रको योगदानलाई अगाडि बढाउन सरकारले आधा दर्जनभन्दा बढी महत्त्वपूर्ण कदमहरू चालिसकेको जानकारी दिए ।नेपालको पर्यटन क्षेत्रबाट हुने आम्दानीको ठूलो हिस्सा वन क्षेत्रकै कारण प्राप्त हुने मन्त्री खनालको भनाइ छ ।

नेपालका ट्रेकिङ रुटहरूमा विदेशी पर्यटकहरू जानुको मुख्य कारण पनि यहाँको वन र प्राकृतिक सौन्दर्य नै रहेको उनले बताए ।उनले नेपाललाई विश्वमा चिनाउन ‘बायोस्फेयर रिजर्भ’ घोषणा गर्न सकिने थुप्रै क्षेत्रहरू रहेको र यस विषयमा वन मन्त्रालयका अधिकारीहरूसँग छलफल भइरहेको समेत बताए ।

उनले भने, ‘वन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सहकार्य गरेर नेपाली काठ उद्योगमा आधारित उद्योगहरूलाई बढावा दिने साझा सहमति भइसकेको छ । यसलाई कार्यान्वयनको पक्षमा पनि केही गृहकार्य हुँदैछ । वाइल्डलाइफ टुरिजम पूर्णतः वन क्षेत्रकै योगदानको कारणले हो । वन मन्त्रालयबाट पुग्ने योगदानकै कारणले हामीले ठूलो मात्रामा वैदेशिक मुद्रा, राष्ट्रिय आय र राजश्व प्राप्त गर्दछौं ।’

मन्त्री खनालले वनको क्षेत्रफल बढेकोमा मात्र खुसी नभई, त्यस अनुरूप मुलुकको अर्थतन्त्रमा वनलाई क्षति नपुग्ने गरी कसरी योगदान पुर्‍याउन सकिन्छ भन्ने विषयमा आगामी कार्यक्रम र नीतिहरू निर्देशित हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार