Skip to content

अब राष्ट्रिय परिचयपत्रका लागि छुट्टै फाराम भर्न नपर्ने

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ । अबदेखि राष्ट्रिय परिचयपत्र बनाउनका लागि छुट्टै आवेदन फाराम भर्न नपर्ने भएको छ । गृह मन्त्रालयले नागरिकता र राष्ट्रिय परिचयपत्रको डेटाबेस प्रणालीलाई एकआपसमा जोडेपछि छुट्टाछुट्टै फाराम भर्न नपर्ने भएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले हिजो जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा यसबारे जानकारी दिनुभएको हो । उहाँका अनुसार मन्त्रालयले सञ्चालनमा ल्याएको केन्द्रीय नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच डेटा आदानप्रदान हुने व्यवस्था मिलाइएको छ ।

यो व्यवस्थापछि नागरिकता बनाउने बेला भरेकै विवरणको आधारमा राष्ट्रिय परिचयपत्र बनाउन सकिन्छ । यो नयाँ व्यवस्थासँगै फाराम भर्नकै लागि नागरिकले गर्नुपर्ने खर्च र समयको बचत हुने मन्त्रालयको विश्वास छ । यसअघि राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि आवेदन फाराम भर्न र जैविक (बायोमेट्रिक) विवरण दिन तोकिएको एकाइमै पुग्नुपर्ने बाध्यता थियो ।

गृह मन्त्रालयका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रको प्रणालीलाई अरु १२ वटा सार्वजनिक सेवासँग अन्तरआबद्ध गर्ने काम पूरा भएको छ । यसरी विभिन्न निकायसँग प्रणाली जोडिँदा दोहोरोपना नियन्त्रण भएको र राज्यकोषको समेत बचत भइरहेको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार