Skip to content

विद्युत् महसुल तिर्न सजिलो बनाउँदै प्राधिकरण, सेवा प्रदायक छनोट प्रक्रिया शुरू

कालोपाटी

३ घण्टा अगाडि

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले महसुल सङ्कलनलाई सहज र प्रभावकारी बनाउन निजी तथा विद्युतीय सेवा प्रदायक संस्थाको छनोट प्रक्रिया अघि बढाएको छ । यसका लागि प्राधिकरणले इच्छुक संस्थासँग प्रस्ताव आह्वान गरेको छ ।

प्राधिकरणका अनुसार विद्युतीय माध्यमबाट भुक्तानी सेवा सञ्चालन गर्ने वा गराउन सक्ने संस्थाहरूले आवश्यक कागजातसहित प्रस्ताव पेस गर्न सक्नेछन् ।

सेवा प्रदायकले कम्तीमा पाँच जना दक्ष प्राविधिक जनशक्ति राख्नुपर्नेछ भने प्रस्तावमा आफ्नो कार्यक्षेत्र, सेवा सञ्जाल, प्रयोग हुने प्रविधि, सफ्टवेयर तथा उपकरणको विस्तृत विवरण पनि उल्लेख गर्नुपर्नेछ ।

प्राधिकरणले दुर्गम क्षेत्रका ग्राहकसम्म पनि विद्युतीय माध्यमबाट सेवा पुर्‍याउने सुनिश्चितता गर्न जोड दिएको छ । स्वीकृत भएपछि १५ दिनभित्र सम्झौताका लागि उपस्थित हुनुपर्ने र कम्तीमा एक वर्ष म्याद भएको १ करोड रुपैयाँ बराबरको बैङ्क जमानत अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

यसले देशभरका विद्युत् उपभोक्तालाई डिजिटल माध्यममार्फत सहज, सुरक्षित र छरितो रूपमा महसुल तिर्ने सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार