Skip to content

सुकुम्बासी समस्याको दीर्घकालीन र मानवीय समाधान गर्न सरकारसँग उज्यालो पार्टी नेपालका अध्यक्ष घिसिङको माग

कालोपाटी

८ मिनेट अगाडि

काठमाडौँ । कीर्तिपुरस्थित सुकुम्बासी सेल्टर (होल्डिङ सेन्टर)को स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले विस्थापितहरूको उचित व्यवस्थापन नगरी हटाइनु दुःखद् भएको बताउनुभएको हो । निरीक्षणका क्रममा अध्यक्ष घिसिङले सेल्टरमा रहेका सुकुम्बासीहरूको अवस्था निकै कष्टकर रहेको उल्लेख गर्नुभयो ।

हालसम्म त्यहाँ ३ हजार १५९ जनाको स्क्रिनिङ भइसकेको जानकारी दिनुभयो । उहाँले विस्थापितहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । बसोवासको अन्योलताका कारण बालबालिकाहरूको शिक्षा र नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको उहाँले बताउनु भयो ।

उहाँले हालैको आत्महत्याको घटनालाई दुःखद् भन्दै यस्ता विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । सरकारसँग दुई तिहाइको बहुमत र पाँच वर्षको स्पष्ट कार्यकाल रहेकाले हतारमा निर्णय नगरी सुझबुझपूर्ण ढङ्गले अघि बढ्न उहाँले सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विस्थापितहरूलाई हाल राखिएको सरकारी जग्गा (होल्डिङ सेन्टर) आफैँमा डुबान क्षेत्र हो । एउटै टेन्टमा धेरै परिवार कोच्चिएर बस्नुपर्ने बाध्यता छ, जुन स्वास्थ्य र सामाजिक दृष्टिकोणले उपयुक्त छैन । धेरै बालबालिका आजदेखि मात्र विद्यालय जान पाएका छन्, कतिपयको परीक्षासमेत प्रभावित भएको छ ।

स्वास्थ्योपचारमा कठिनाइ भइरहेको छ भने रोजगारी र व्यवसाय गुम्दा बैंकको ब्याज तिर्न नसकेर विस्थापितहरू मानसिक तनावमा छन् । पहिले व्यवस्थापनको योजना बनाएर मात्र बस्ती हटाउनु पर्दथ्यो, तर सरकारले उल्टो बाटो रोज्दा समस्या जटिल बनेको छ ।’

अध्यक्ष घिसिङले सुकुम्बासी समस्या देशैभरिको साझा समस्या भएको उल्लेख गर्दै वास्तविक सुकुम्बासी र सरकारी जग्गा हडप्ने सम्पन्न वर्गबीच पहिचान हुनुपर्ने बताउनु भयो । संविधानले प्रत्याभूत गरेको आवास र भूमिको अधिकारलाई कुण्ठित नगर्न आग्रह गर्दै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीलाई जोडेर एकीकृत व्यवस्थापनको खाका ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार