Skip to content

क्रिप्टोबाट ट्रम्पको कमाइ : १ वर्षमै १ अर्ब ४० करोड डलर

कालोपाटी

४५ मिनेट अगाडि

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट झन्डै १ अर्ब ४० करोड डलर अर्थात् २ खर्ब ११ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्नुभएको विवरण सार्वजनिक भएको छ ।

अमेरिकी सरकारी नैतिकता कार्यालयले हिजो सार्वजनिक गरेको ९२७ पृष्ठको आर्थिक प्रतिवेदनअनुसार ट्रम्पले विशेषगरी वर्ल्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आम्दानी गर्नुभएको हो । यही आम्दानीका कारण सन् २०२४ देखि २०२६ बीच उहाँको व्यक्तिगत सम्पत्ति २ अर्ब ३० करोड डलरबाट बढेर ६ अर्ब ५० करोड डलर पुगेको फोर्ब्सले जनाएको छ ।

प्रतिवेदनअनुसार ट्रम्पले स्टार्टअप कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलसँगको सम्बन्धबाट झन्डै ५ करोड ५० लाख डलर प्राप्त गर्नुभएको थियो भने जनवरी २०२५ मा राष्ट्रपतिको शपथअघि सार्वजनिक भएको ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित इजाजतपत्र सम्झौताबाट थप ६३ करोड ५० लाख डलर रोयल्टी प्राप्त गर्नुभएको उल्लेख छ । यो कम्पनी सेप्टेम्बर २०२४ मा ट्रम्पका छोराहरू र मध्यपूर्वका विशेष दूत स्टिभ विटकफका छोराले संयुक्तरूपमा स्थापना गरेका थिए ।

क्रिप्टोकरेन्सी गतिविधिका कारण ट्रम्पमाथि राष्ट्रपति रहँदै आफूले लगानी गरेको क्षेत्रलाई नियमनमुक्त बनाउन प्रयास गरेको भन्दै स्वार्थको द्वन्द्वको आरोप लाग्दै आएको छ । तर ह्वाइट हाउसले ती आरोप अस्वीकार गर्दै राष्ट्रपति वा उहाँको परिवार कुनै पनि स्वार्थको द्वन्द्वमा संलग्न नरहेको जनाएको छ । ह्वाइट हाउसकी प्रमुख उपप्रेस सचिव अन्ना केलीले ट्रम्पले अमेरिकालाई विश्वको ‘क्रिप्टो राजधानी’ बनाएको दाबी गर्दै प्रशासनका सबै निर्णय अमेरिकी नागरिकको हितमा केन्द्रित रहेको बताउनुभयो ।

सन् १९७८ को कानूनअनुसार राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो सम्पत्ति तथा आम्दानी सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । यस पटकको खुलासामा प्रथम महिला मेलानिया ट्रम्पले अमेजनका लागि निर्माण गरिएको वृत्तचित्रबाट १ करोड डलरभन्दा धेरै र आफ्नो पुस्तक ‘मेलानिया’ बाट ५ लाख डलरभन्दा धेरै आम्दानी गरेको उल्लेख छ । ट्रम्पले कोइनबेसजस्ता क्रिप्टो कम्पनीका शेयर, ट्रम्प ब्रान्डका विभिन्न सामग्री तथा गायक ली ग्रीनवुडसँगको सहकार्यमा बिक्री गरिएको बाइबलबाट पनि उल्लेखनीय आम्दानी गर्नुभएको विवरणमा उल्लेख छ ।

ट्रम्पको सम्पत्ति अहिले उहाँका छोरा डोनाल्ड ट्रम्प जुनियरद्वारा सञ्चालित ट्रस्टमा राखिएको छ । यद्यपि ट्रस्टको व्यवस्थाअनुसार कुनै पनि बेला त्यसको विघटन सम्भव भएकाले सन् २०२९ मा दोस्रो कार्यकाल समाप्त भएपछि ट्रम्पले सम्पत्तिमाथिको प्रत्यक्ष नियन्त्रण पुनः प्राप्त गर्न सक्ने अवस्था रहेको अनुमान छ ।

यही प्रतिवेदनमा उपराष्ट्रपति जेडी भान्सले पनि सन् २०१६ मा प्रकाशित आफ्नो संस्मरण ‘हिलबिली एलेगी’ बाट १० लाखदेखि ५० लाख डलरसम्म रोयल्टी प्राप्त भएको विवरण सार्वजनिक गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार