Skip to content

चीनमा शक्तिशाली आँधीका कारण १० लाखभन्दा बढी मानिस सुरक्षित ठाउँमा सारिए

कालोपाटी

५५ मिनेट अगाडि

काठमाडौँ । शक्तिशाली डोल्फिन आधी चीनको पूर्वी तटमा प्रवेश गरेपछि १० लाखभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । आँधीका कारण चीनको सांघाईसहितका क्षेत्रमा यातायात सेवा प्रभावित हुनुका साथै ठूलो वर्षा, बाढी र पहिरोको जोखिम बढेको बीबीसीले जनाएको छ ।

डोल्फिन आधी हिजो बेलुकी झेजियाङ प्रान्तको युहुआन क्षेत्रमा प्रवेश गर्दा अधिकतम हावाको गति प्रतिघण्टा १५० किलोमिटर पुगेको थियो । त्यसको झण्डै एक घण्टापछि आँधीले वेन्झाउ शहरमा दोस्रोपटक जमिन छोएको चिनियाँ मौसम अधिकारीहरूले बताएका छन् ।

आँधीको प्रभावका कारण सांघाईमा मात्रै झण्डै १ हजार ४ सय उडान रद्द गरिएका छन् । चीनले यसअघि आँधीका लागि उच्चतम तहको रेड अलर्ट जारी गरेको थियो भने आज बिहान यसको जोखिम घटेपछि चेतावनीको स्तरलाई तल झारिएको छ ।

आँधी अहिले चीनको भित्री भूभागतर्फ अघि बढिरहेको खबरमा उल्लेख छ । अधिकारीहरूले पर्सि बुधवारसम्मै केही क्षेत्रमा अत्यधिक वर्षा, बाढी र पहिरोको जोखिम रहने चेतावनी दिएका छन् ।

आज शानडोङ, हेनान, हुबेई, आन्हुई, जियाङ्सु, झेजियाङ प्रान्त तथा सांघाईमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार