सङ्गठन पुनर्गठनतिर लाग्यो माओवादी केन्द्र, प्रदेश हुँदै केन्द्रीय तहसम्मको पार्टीलाई पुनर्गठन गर्ने तयारी

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा विभाजनपछि पूर्ववत् दलको हैसियतमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० तल्लो तहदेखि नै सङ्गठन पुनर्गठनमा लागेको छ । पार्टी केन्द्रले देशभरका वडा कमिटी पुनर्गठन गर्न गरेको निर्देशनानुसार यहाँ पनि वडा तहका सबै कमिटीले पूर्णता पाएका छन् । पचासी वटै वडामा नयाँ कमिटी बनेको माओवादी केन्द्रका जिल्ला सचिव ज्ञामनाथ गैरेले जानकारी दिनुभयो । एकतापछिको नेकपा छँदा एमाले र माओवादी केन्द्र समायोजित भएर केन्द्रदेखि वडासम्म पार्टी कमिटी गठन भएका थिए । त्यसबेला एउटा पार्टीबाट अध्यक्ष र अर्कोबाट सचिवमा चुनिएका थिए । वडामा पनि त्यही प्रकृतिको कमिटी क्रियाशील थियो ।

नेकपा विभाजनपछिको नयाँ स्थितिमा पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै गति प्रदान गर्न पुनर्गठनमा जानुपरेको सचिव गैरेले बताउनुभयो । “नेकपाको नेतृत्वमा रहनुभएका साथी अहिलेको कमिटीमा पनि कायमै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “रिक्त रहेका पदमा नयाँ साथीले जिम्मेवारी पाउनुभएको छ ।”

सचिव गैरेले साङ्गाठनिक जग बलियो नभएसम्म पार्टी अगाडि बढ्न नसक्ने भन्दै त्यसका लागि गाउँ फर्किनुपर्ने बताउनुभयो । कमिटी पुनर्गठनका क्रममा अन्य दल परित्याग गरी आएकालाई पनि एकताबद्ध गरिएको माओवादी केन्द्रले जनाएको छ । वडामा बढीमा २९ सदस्यीय कमिटी बनाउन पाउने प्रावधान पार्टी केन्द्रले तोकेको छ ।

आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा वडा तहका कमिटी पुनर्गठनको प्रतिवेदन प्रस्तुत हुने जनाइएको छ । वडासँगै स्थानीय तह, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्मको पार्टी सङ्गठनलाई पुनर्गठन गर्ने तयारीमा माओवादी केन्द्र छ ।

माओवादी केन्द्रको जैमिनी नगरपालिका–८ छिस्ती वडा कमिटीका अध्यक्ष प्रकाश पौडेलले पार्टीको जनाधार मजबुत पार्न तल्लो तहका कमिटी सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले पार्टी पुनःसंरचित हुँदा त्यसले गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्