देशकै उत्कृष्ट बन्दै सर्लाहीको घिमिरे दाजुभाइ कृषि तथा पशुपंक्षी माछा फार्म

Ad
  • कालोपाटी सम्बाददाता

सर्लाही । बागमती नगरपालिका– ६ राजघाट पञ्चमुखी चोकमा रहेको घिमिरे दाजुभाइ कृषि तथा पशुपंक्षी माछा फार्म प्रदेश नं २ कै उत्कृष्ट फार्मका रुपमा परिचित भएको छ । उहाँहरुले राजघाटमा व्यावसायिक रुपमा करिब तीन वर्ष पहिला कृषि तथा पशुपक्षी माछा फार्म सुरु गर्नुभएको थियो ।

उहाँहरुले अहिले करिब ५० लाखको लागतमा घिमिरे दाजुभाइ कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गर्नुभएको छ । अहिले उक्त फार्म करिब एक करोड ५० लाखको भइसकेको छ । करिब चार बिघा क्षेत्रफलमा आधुनिक तरिकाले फार्म बनाएर एक हजार लोकल र ब्रोइलर कुखुरा, ५३ राँगा पाल्न थालेका उहाँहरुले १० हजार माछा पनि थप्नुभएको छ । करिब ५० हजार माछा पाल्नका लागि पोखरी निर्माण गरी रहेको फार्मका सञ्चालक रामप्रसाद घिमिरेले बताउनुभयो ।

उहाँहरुले आफ्नो बगैँचामा विभिन्न प्रजातिका फलफूल तथा अमूल्य जडीबुटी र लोप हुन लागेका बिरुवा पनि लगाउनुभएको छ । सुरुमा खर्च रकम धेरै लाग्ने डर रहेको भए पनि विस्तारै त्यो समस्या समाधान भएको र आफ्नो फार्म हेर्न आउने युवा नेपालमै बसेर केही गर्न सकिने रहेछ भन्ने मनसाय बनाएर फर्किने गरेका घिमिरेको भनाइ छ । जिल्लामै एक नमूना फार्म निर्माण सुरु गरेर चार घिमिरे दाजुभाइले प्रशंसनीय कार्य गरेका वडाध्यक्ष खड्गबहादुर राईले बताउनुभयो ।

उक्त फार्म विस्तार गर्दै स्थानीय युवालाई स्वरोजगार बनाउने विषयमा नगरपालिकाले सकेको सहयोग गर्ने नगर प्रमुख भरतकुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कृषिलाई आधुनिक तरिकाले गर्ने र युवालाई रोजगारी दिने उक्त फार्मको लक्ष्य पूरा गर्न आवश्यक सबै प्रकारका सहयोग गर्न नगरपालिका तयार छ । एउटै घरका रामप्रसाद घिमिरे, चेतन घिमिरे, सरोज घिमिरे र यामप्रसाद घिमिरेले मिलेर सो फार्म सञ्चालन गर्नुभएको हो ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्