प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत तनहुँको बन्दीपुर गाउँपालिकामा २१ योजना सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा आर्थिक वर्ष ०७७/७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१ योजना सम्पन्न भएका छन् । सो कार्यक्रम मार्फत् २१६ ले रोजगारी पाएको कार्यक्रम संयोजक शरणसिं गुरुङले जानकारी दिनुभयो । तीमध्ये १०५ महिला र १११ पुरुष छन् । साइकल लेन, खानेपानी संरक्षण, सिँढीबाटो मर्मत, पोखरी निर्माण, आमा समूह भवन निर्माण, पक्की नाला, चौतारा मर्मतलगायतका काम गरिएको थियो ।

कार्यक्रमका लागि ७६ लाख ७४ हजार अनुदान प्राप्त भएकामा ३४ लाख नौ हजार ३५६ खर्च भएको छ । गाउँपालिकाले सो कार्यक्रमसँगै गाउँपालिका अध्यक्षसँग रोजगार कार्यक्रमसमेत सञ्चालन गरेको थियो । यसका लागि २१ लाख ८० हजार विनियोजन गरिएकामा १९ लाख ९७ हजार ४७४ खर्च भएको छ ।

कार्यक्रममार्फत मुकुन्देश्वरी रामकोट साइकल लेन मर्मत तथा निर्माणका लागि १५ ले रोजगारी पाएका छन् । उक्त कामबाट एक हजार ६०६ मिटर लम्बाइ लेन निर्माण गरिएको छ । जुमडाँडा खानेपानी संरक्षण तथा मर्मतका लागि छ जनाले रोजगारी पाएकामा १४.२ घनमिटरको ढुङ्गाको गारो र १७ मी तारबार गरिएको छ ।

पीपलथोकबाट खोरियापानी पधेँरा जाने बाटोका लागि १० ले रोजगारी पाएकामा १०१ मी ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ । लखनबारीदेखि पँधेरा जाने सिँढीबाटो मर्मत तथा निर्माणका लागि छ जनाले रोजगारी पाएकामा पिसिसी ढलान गरेको बाटो ११६ मी सम्पन्न भएको छ ।

सामुदायिक वन क्षेत्रमा पोखरी निर्माण तथा मर्मतका लागि १२ ले रोजगारी पाएकामा पाँच ठाउँमा पोखरी निर्माण गरिएको छ । साराङमुखिया टोलदेखि मनेथानसम्म सिँढी बाटो निर्माणका लागि आठले रोजगारी पाएकामा पिसिसी ढलान गरेको बाटो १०१ मी सम्पन्न भएको छ ।

ज्ञान्पा गाउँमा सिँढी बाटो निर्माणका लागि नौले रोजगारी पाएकामा पिसिसी ढलान गरेको बाटो ६४.९ मी सम्पन्न भएको छ । कमलाबारी तल्लो गाउँबाट माथिल्लो गाउँसम्म सिँढी बाटो निर्माणमा पाँचले रोजगारी पाएकामा ढुङ्गा छाप्ने काम ४४.५ मी सम्पन्न भएको छ । भुलभुले खानेपानी मर्मतका लागि सातले रोजगारी पाएकामा पाइप लाइन खन्ने काम ९१७ मी सम्पन्न भएको छ । डाँडाछाप च्याहनडाँडा पैदलमार्ग निर्माणका लागि नौले रोजगारी पाएकामा सुख्खा ढुङ्गा छाप्ने काम २७८.५ मी सम्पन्न भएको छ ।

ग्याजाटार नागकुवा पँधेरादेखि खड्गमाई आमासमूह भवनसम्म सिँढी बाटो मर्मत तथा निर्माणका लागि छ ले रोजगारी पाएकामा पिसिसी ढलान गरेको बाटो १०१.५ मी सम्पन्न भएको छ । पडकेप पँधेरादेखि आलेचौरसम्म खानेपानी विस्तारका लागि आठले रोजगारी पाएकामा पाइप लाइन खन्ने काम ६५० मी सम्पन्न भएको छ । ढाडगाउँ पानी पँधेरा जाने गल्ली र पँधेरा निर्माणका लागि १२ मीले रोजगारी पाएकामा पिसिसी ढलान गरेको बाटो ९१.८ मी सम्पन्न भएको छ ।

लुङ्गेली सडक पक्की नालाका लागि १३ ले रोजगारी पाएकामा पक्की नाला १८.९ मी, कच्ची नाला ९०६ मी सम्पन्न भएको छ । खड्गमाई मन्दिर परिसरमा रहेको चौतारा मर्मतका लागि नौ ले रोजगारी पाएकामा ढुङ्गाको गारो ८५ घमि, ढुङ्गा छाप्ने काम २०० वर्गफिट सम्पन्न भएको छ ।

रानीवनदेखि बाहुन भञ्ज्याङसम्मको साइकल लेन मर्मतका लागि १६ ले रोजगारी पाएकामा २५५० मी काम सम्पन्न भएको छ । कोरिखा ढुङ्गा छाप्ने कामका लागि १४ ले रोजगारी पाएकामा बाटोमा सोलिङ र पिसिसी १२४ मी, बाटोमा ढुङ्गा छाप्ने काम १०९.५ मी सम्पन्न भएको छ । बाजुवाडाँडा डिगार्टु पैदलमार्ग मर्मत तथा निर्माणका लागि आठले रोजगारी पाएकामा बाटोमा सुख्खा ढुङ्गा छाप्ने काम २७५ मी सम्पन्न भएको छ । वडा नं ३ को वडा कार्यालयसम्मको बाटो तथा नाली मर्मतका लागि १५ ले रोजगारी पाएकामा कच्ची नाली खन्ने काम ८५ मी, बाटोमा ढुङ्गाको सोलिङ २५.५ मी र नाली सफा गर्ने काम ८५ मी सम्पन्न भएको छ ।

वडा नं ६ को वडा कार्यालयसम्मको बाटो तथा नाली मर्मतका लागि २४ ले रोजगारी पाएकामा कच्ची नाली खन्ने काम ९९६ मी, नाली सफा गर्ने काम ११८० मी सम्पन्न भएको छ । बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूति गर्ने उद्देश्यसहित सरकारले यो कार्यक्रम सुरु गरेको थियो ।

यस कार्यक्रमअन्तर्गत १८ देखि ५९ वर्ष उमेर समूहका विपन्न बेरोजगार व्यक्तिले रोजगारी पाएका छन् । कार्यक्रमका लागि गाउँपालिकाभित्रका ३५८ प्राथमिकीकरण सूचीमा समावेश भएका छन् । वडामार्फत प्राप्त भएको बेरोजगार आवेदन र बेरोजगारको सूची कार्यपालिकाको बैठकबाट प्रमाणित गरिएको थियो ।

यस कार्यक्रमबाट श्रमिकको ज्याला भुक्तानी गर्दा अनिवार्य बैंक खातामा भुक्तानी गर्नुपर्ने व्यवस्थाले विपन्न वर्गको पारिवारिक तहमासमेत वित्तीय साक्षरता अभिवृद्धि भएको रोजगार संयोजक गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम सञ्चालनका क्रममा केही चुनौती आइपरेको थियो । गत आर्थिक वर्षमा कायम भएको बजेट, मापदण्ड तथा कार्यविधि परिवर्तन भई चालू आर्थिक वर्षमा आधार, कार्य प्रक्रिया नयाँ भएकाले कार्यान्वयनमा अस्पष्टता र जटिलता आएको थियो । “प्रधानमन्त्री रोजगार कार्यक्रम केबल सङ्घीय सरकारको मात्र कार्यक्रम हो भन्ने सोचले लक्ष्यअनुसारको प्रगति हुन सकेन”, उहाँले भन्नुभयो ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्