पोखरा महानगरपालिकालाई २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको समन्वयमा ल्याइएको उक्त सामग्रीलाई आज महानगरपालिका परिसरमा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गर्नुभयो ।

उपप्रमुख गुरुङले महानगरपालिकाले १३ अन्तर्राष्ट्रिय सम्बन्धमध्ये नौ चीनका विभिन्न शहरसँग भएको जानकारी दिनुभयो । विसं २०७४ पुस २६ गते महानगरपालिका र चीनको नानिङ शहरबीच भगिनी सम्बन्ध रहेको जनाउँदै उहाँले प्राप्त सामग्रीले महामारी रोकथाम र नियन्त्रणमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नानिङ शहरका प्रमुखलाई धन्यावाद पत्र पठाउँदै कोरोना सहज भएपछि पोखरा भम्रणको आमन्त्रण गरिने बताउनुभयो । महामारी नियन्त्रणमा सबैको साथ र सहयोग आवश्यक रहेको जनाउँदै उहाँले प्राप्त सामग्रीलाई आवश्यकताका आधारमा अस्पताललाई वितरण गर्ने जानकारी दिनुभयो ।

परिषद्का अध्यक्ष भट्टराईले उक्त शहर चीनको नमूना शहर भएको जनाउँदै भगिनी सम्बन्ध स्थापित शहरको साथ र सहयोगले आगामी दिनमा पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार स्वास्थ्य सामग्री अन्तर्गत पाँच अक्सिजन कन्सन्टेटर मेसिन, मेडिकल मास्क २० हजार थान, पिपिइ सेट ५०० थान, मेडिकल पञ्जा पाँच हजार प्राप्त भएको छ ।

रेवानका उपाध्यक्ष नरेश भट्टराईले चीनका विभिन्न शहरसँग भएको भगिनी सम्बन्धले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको जनाउँदै कोराना रोकथाम र नियन्त्रणमा प्राप्त स्वास्थ्य सामग्रीले उपचारमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा चाइना ओभरसिज एशोसियशनका अध्यक्ष चाङ र सचिव साङसावो सन्देश, महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षको सहभागितो थियो ।- रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्