अलैँची मासिन थालेपछि मङ्गलबारेका किसान चिन्तित

Ad
  • कालोपाटी सम्बाददाता

मङ्गलबारे । नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् ।

मकैबारी नै मासेर अलैँची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैँची पुनः रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको ती किसानको गुनासो छ । डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको देउमाई नगरपालिकाका घनश्याम खतिवडा बताउनुहुन्छ । ‘‘बारी नै मासेर अलैँची लगाइएको थियो फेरि मर्न थाल्यो’’, उहाँ भन्नुहुन्छ । उक्त बाली मासिँदै गएकाले यहाँका किसानले वैकल्पिक बाली लगाउन थालेका छन् ।

दुई वर्ष अगाडि प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना कार्यक्रममार्फत इलामको देउमाई नगरमा अलैँची खेती विस्तार गरिएकामा अहिले डढुवा रोग लाग्नाका साथै समयमा वर्षा नहुँदा मासिँने क्रममा रहेको छ । सन्दकपुर गाउँपालिकामा भने अलैँची ब्लक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सन्दकपुरसँगै रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा समेत यो बाली मासिने क्रममा रहेकाले किसानले वैकल्पिक नगदेबाली लगाउन थालेका छन् । उत्पादन घट्दै गएपछि अलैँचीको मूल्य भने प्रतिमन रु ३० हजारभन्दा माथि पुगेको छ । अन्यबाली लगाउनु पर्दा आफूहरूमा निराशा छाएको मङ्गलबारेस्थित देउमाई कृषि सहकारी सङ्घका देउकुमार राना बताउनुहन्छ ।

गतवर्ष जिल्लामा ५७६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो तर यो वर्ष उत्पादन र क्षेत्रफल घटेर एक हजार ६०० हेक्टर जमिनमा अलैँची लगाइए पनि विभिन्न रोग र प्रतिकूल मौसमका कारण सोचेबमोजिम उत्पादन नहुने भएको छ । अलैँची काँचै भारतलगाय मुलुकमा निर्यात हुँदै आएको छ ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्