गण्डकी प्रदेशद्धारा मनाङका बाढी प्रभावितलाई आर्थिक सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

मनाङ ।  गण्डकी प्रदेश सरकारले मनाङका बाढी प्रभावितलाई प्रतिपरिवार दुई लाख प्रदान गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार स्थलगत निरीक्षण गर्दै आवास निर्माणका लागि प्रतिपरिवार दुई लाख उपलब्ध गराउने जानकारी दिनुभयो ।

उहाँले बेँसीसहर–चामे सडक खुलाउन सङ्घीय सरकारले काम थालिसकेको र ताल गाउँसम्म गाडी चल्न थालेको बताउनुभयो । सङ्घीय सरकारले जिल्लालाई विपद् सङ्कटग्रस्त घोषणा गरिसकेको छ । मुख्यमन्त्री पोखरेलले भन्नुभयो “जिल्लामा विभिन्न बस्तीको पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग समन्वय भइरहेको छ । ”सदरमुकाम चामेमा बाढीकै कारण विद्युत् सेवा अवरुद्ध भएपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयहरुमा सोलार जडान गरिदिएको छ ।

जिल्लामा यस वर्षका वर्षामा ८५ घर पूर्ण क्षतिको विवरण सङ्कलन भएको छ । खासगरी नासों गाउँपालिका–१ मा सबैभन्दा बढी घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । उहाँका अनुसार नासोंमा मात्रै ७० घरमा क्षति पुगेको छ । धारापानीका १२ घरमा क्षति पुगेको उहाँले बताउनुभयो ।

सो अवसरमा अर्थमन्त्री रामजीप्रसाद बरालले बाढीपहिरा प्रभावितहरुको पहिचान गरी तत्काल र दीर्घकालीन रुपमा समस्या समाधानका लागि सरकार कटिबद्ध भएको बताउनुभयो । गाउँपालिकाको अधिकांश बस्ती बगरका रुपमा परिणत भएकाले अस्थायी बसोबासका साथै प्रभावितहरुलाई खान, बस्न प्रबन्ध भइरहेको र प्रदेश सरकारले कमी हुन नदिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

अझै पनि मस्र्याङ्दी नदीमा पानीको बहाव कम नहुँदा आसपासका बासिन्दा त्रासमा छन् । नासोंका धारापानी, थोंचे, दानाक्यु, ताचै, तिल्चे, ताल गाउँलगायत मनाङमा गत असार १ गते परेको अविरल वर्षाले मस्र्याङ्दी नदी र दूध खोलामा आएको बाढीका कारण गाउँका नौवटै वडा प्रभावित भएको अध्यक्ष घलेले जानकारी दिनुभयो । बाढीले स्थानीयवासीको घरबास नै डुबाउनाका साथै खेतीयोग्य जमिनसमेत बगाएको छ ।

मूल सडक, मोटरेबल पुल र झोलुङ्गे पुल बगाएको छ । सडक सञ्जालका साथै सञ्चार र बिजुलीसमेत नहुँदा अन्धकारमा बस्न बाध्य भएको स्थानीयवासीको दुःखेसो छ । भ्रमणमा मुख्यमन्त्री पोखरेल ,अर्थमन्त्री बराल, कांग्रेसका प्रदेशसभा सदस्य चिन्तबहादुर घले, नेकपा ९माओवादी केन्द्र०का नेता कपिल लामा सहभागी हुनुहुन्थ्यो ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्