कैलालीको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै

Ad
  • कालोपाटी सम्बाददाता

गोदावरी । कैलालीको चुरे गाउँपालिका– ४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्क शम्शेर जङगबहादुर राणाले निर्माण गरेको दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो ।

एक सय वर्ष पुरानो दरबार कुनै तहबाट पनि पहल नभएको चुरे गाउँपालिका– ४ का वडाध्यक्ष कृष्ण मल्लले बताउनुभयो ।स्थानीय बासिन्दाले भने यसको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गर्दै आएका छन् । दरबार जीर्ण हुँदै गएकाले पछि लगाइएको टिनको छाना हावाले उडाएको छ भने प्रयोगविहीन हुँदा भवन भत्किँदै जानका साथै कलाकृतिले भरिएको भित्ता पनि २०५५ सालदेखि भत्किन सुरू भएको वडाध्यक्ष मल्लको भनाइ थियो ।

विसं २०३२ सम्म दरबारमा चहलपहल हुँदै आएको थियो । खड्कका छोरा बहादुर पछि उनका साहिला छोरा तेजप्रकाशको भागमा दरबार परेको स्थानीय जानकार बताउँछन् । विसं २०३३ पछि भने यहाँ कोही पनि बसेका छैनन् । हावापानी, मौसम र भौगोलिक रुपमा उपयुक्त भएकाले राणा शासकले गर्भालाई रोजेको हुनसक्ने बुझाइ स्थानीय बासिन्दाको छ । पुराना कलाकृतिका दरबारमा ८३ झ्याल र ५३ ढोका छन् ।

दश रोपनी जमिनमा फैलिएको दरबारको तीन खण्ड र तीन तल्ला छ । सुरक्षाका लागि दरबारको भूइँतल्लामा सुरुङसमेत बनाइएकामा अहिले पुरिँदै गएको छ । उतिबेला राणा शासक खैरालाको दरबारबाट बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फूमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ ।

चुरे गाउँपालिकाले यस दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सोच बनाएको अध्यक्ष धनबहादुर रोकामगरले बताउनुभयो । दरबार संरक्षणका लागि पर्याप्त बजेट नभएकाले आफूहरूले प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिरहेको उहाँको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले हरेक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै आए पनि फ्रिज हुने गरेको भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीले बताउनुयोे । आर्थिक वर्षको अन्तमा बजेट निकासा भएकाले पर्याप्त समय नहुँदा फ्रिज हुने गरेको उहाँको भनाइ थियो । गत वर्ष पुरातत्व विभागको एक टोलीले दरबारको अवलोकन गरेकामा त्यसको प्रतिवेदन सरकारलाई बुझाएपछि काम सुरु गरिने बताइएको छ ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्