म्याग्दीको दुधेखोला बस्ती नदी कटानको उच्च जोखिममा

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ दुधेखोला बाढी, पहिरो र नदी कटानको उच्च जोखिममा परेको छ । दुधेखोलामा भदौ ६ गते राति आएको बाढीले बगाएको एक घर र उच्च जोखिममा रहेका अरु २२ घरपरिवारको उचित व्यवस्थापन हुन नसकिरहेको छैन । सोमबार साँझदेखि आज बिहानसम्म पनि निरन्तर वर्षा भइरहेकाले यो बस्ती, नदी कटानको चपेटा पर्ने त्रास बढेको छ ।

दुधेखोला आसपासका घरपरिवार बाढी र कटानको डरले आफ्नो घर छाडेर आफन्तकामा आश्रय लिएका छन् । पुछारमा उर्लँदो म्याग्दी नदी, शिरानमा विशाल भिर, गाउँको पश्चिम र पूर्वतर्फ भिरालो जङ्गलबाट झरेका खहरे छहराका कारण दुधेखोलाको बस्ती जोखिममा छ । करिब ४५ घरपरिवारको बसोबास रहेको यो बस्तीलाई उचितरूपमा व्यवस्थापन नगर्ने हो भने ठूलै खतरा निम्तनसक्ने सरोकारवालाको राय रहेको छ ।

आइतबार राति आएको बाढीले स्थानीयवासी दीपा पुनको घर बगाउँदा करिब १७ लाख बराबरको क्षति भएको छ । राति आएको बाढीले घरमा क्षति पु¥याउन थालेपछि तीन जना परिवार राति नै घर छाडेर आफन्तकोमा सरेकाले मानवीय क्षति भने भएको छैन । बाढीले घरमा रहेका लत्ताकपडा, खाद्यान्न र पशु चौपायासमेत बगाएको छ । स्थानीय नारायण पुनको एउटा दुहुनो भैँसी खोलामा मृतावस्थामा भेटिएको छ ।

भकिम्लीको लहरेनी र चिनाखेतको सिमानामा पहिरो खसेर दुधेखोलामा मिसिएकाले खोलामा आएको बाढी बस्तीतर्फ सोझिएपछि क्षति भएको बेनी नगरपालिका–३ का वडासदस्य तथा स्थानीयवासी गेमप्रसाद घर्तीमगरले बताउनुभयो । उहाँका अनुसार दीपा पुनको घर पूर्ण क्षति भएको छ भने स्थानीय नारायण पुन र तिलाराम थापाको घर बस्नै नसकिने गरी उच्च जोखिममा छन् । घर्तीका अनुसार तल्लो र उपल्लो गरी दुई भागमा बाडिँएको गाउँमा ४५ घरपरिवारको बसोबास छ । दुधेखोला र म्याग्दी नदीको कटानका कारण सम्पूर्ण घरपरिवार उच्च जोखिममा रहेका उहाँले बताउनुभयो ।

बाढीले दुधेखोलादेखि करिब ८०० मिटरको दूरीमा रहेको बस्ती कटान गरेको छ । दुधेखोला र कोप्रेखोलाको बीचमा रहेको बस्ती दुवैतिरबाट कटानमा परेकाले असुरक्षित बन्दै गएको उहाँले बताउनुभयो । बाढीका कारण मङ्गला गाउँपालिका र बेनी नगरपालिकाका चारवटा वडालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–बगरफाँट–सुर्केमेला–बरङ्जा सडक अवरुद्ध छ । खानेपानीको पाइप बगाएपछि धारामा पानी आएको छैन भने विद्युत् सेवा पनि अवरुद्ध भएको छ । स्थानीयवासीलाई आउजाउ गर्न समस्या भएको छ । सुर्केमेलाबाट बेनी ढुवानी हुने दूध र तरकारी पनि ढुवानी हुनसकेको छैन ।

दुधेखोलाको बाढीले म्याग्दी नदी बग्ने ठाउँलाई साँघुरो बनाइदिएको छ । लेदो र ढुङ्गा नदीमा थुप्रिँदा तलाउ बनेको छ । जसले गर्दा म्याग्दी नदी पारिको बस्ती चुत्रेनी पनि जोखिममा परेको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीले जोखिमयुक्त घरका सामान सुरक्षित रहेका घरमा सारिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीले बताउनुभएको छ ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्