क्रियाशील सदस्यता विवाद टुङ्गिएसँगै कांग्रेस महाधिवेशनमा अग्रसर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको छ ।

प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका तर्फबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिवेदन बुझाउनुभएको हो । क्रियाशील सदस्यताको बाँकी विवाद मिलाउन पार्टीले नेता सिटौलासहित केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी प्रदान गरेको थियो ।

क्रियाशील सदस्यतालाई अन्तिम रुप दिएसँगै यही भदौ १८ गते तोकिएको कांग्रेसको गाउँ÷नगर वडा अधिवेशन सुनिश्चित भएको छ । नेता कार्यकर्ताहरु अधिवेशनका लागि जिल्ला र गाउँ जान सुरु भइसकेको छ । नौ लाखको हाराहारीमा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन । क्रियाशील सदस्यहरुले आफने वडा समिति र क्षेत्रीय प्रतिनिभिको चयन गर्ने विधानमा उल्लेख छ ।

सभापति देउवाले क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेपछि प्रतिवेदन पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण हुनेछ । निर्वाचन समितिले क्रियाशील सदस्यताको विवरण प्राप्त गरेलगत्तै एक÷दुई दिनभित्र सम्पूर्ण जिल्लामा पु¥याइसक्ने समिति संयोजक महादेवप्रसाद यादवले राससलाई जानकारी दिनुभयो । समय कम भएकाले समितिले स्थल र हवाई यातायातका साथै कतिपय हिमाली जिल्लामा हेलिकोप्टर समेत प्रयोग गर्ने उहाँले बताउनुभयो ।

निर्वाचन समितिले क्रियाशील सदस्यता नामावली सूची, पार्टीको विधान र नियमावली, निर्वाचन निर्देशिका, अधिवेशनमा निर्वाचित हुने सदस्यलाई प्रदान गर्ने प्रमाणपत्रसहितको बण्डल प्रत्येक जिल्ला सदरमुकाममा वडा अधिवेशनको कम्तीमा एक साता अघि र त्यसको दुई दिनभित्र प्रत्येक वडामा पु¥याउने लक्ष्य राखेको छ ।

उक्त सबै सामग्री छपाइको सम्पूर्ण काम सम्पन्न भइसकेको र सबै वडा तथा निर्वाचन समितिका लागि करिब सातदेखि आठ हजारको बण्डल बनाएर देशभर पठाइने उहाँले बताउनुभयो । समितिले तराई र सुगमका ४१ जिल्लामा योजनाअनुसारको निर्धारित समयमै निर्वाचन सामग्री पुग्ने अपेक्षा गरेको र बाँकी हिमाली तथा विकट पहाडी ३६ जिल्लामा भने यातायातको केही चुनौती रहेको जनाएको छ । यसबाहेक पार्टीले अधिवेशनमा कोभिड-१९ को महामारी, बाढीपहिराको प्रकोपलगायत चुनौतीको पनि सामना गर्नुपर्ने देखिन्छ ।

अधिवेशनका लागि समितिले पार्टी निकट मानिने डिएलएसम्बद्ध कानून व्यवसायीहरुबाट सबै जिल्लामा निर्वाचन अधिकृत तोकिसकेको छ । निर्वाचन अधिकृतले सम्बन्धित जिल्लाका पार्र्टी सभापति र शिक्षक सङ्घसँग समन्वय गरी वडास्तरमा मतदान अधिकृत तोक्ने संयोजक यादवले बताउनुभयो । कांग्रेसले पार्टीमा पूर्ण लोकतान्त्रिक अभ्यासका लागि विधानमा संशोधन गरी टोल, वडा, गाउँपालिका/नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको तहगत व्यवस्था गरेको छ । नयाँ विधानअनुसार कांग्रेस केन्द्रीय कार्यसमिति एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, एक कोषाध्यक्ष र बाँकी सदस्य गरी कुल १६८ सदस्यीय हुनेछ ।

गत साउन ३० गतेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औँ महाधिवेशनका लागि गाउँ÷नगर÷उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने, सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने र गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गरेको छ ।

साउन ३० गतेकै केन्द्रीय समिति बैठकले पारित गरेको संशोधित कार्यतालिकाअनुसार कांग्रेसको गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्